चीनमा कोरोना भाइरस राखिएको फ्रिज फुटेकै हाे ?

हङकङ । कोरोना भाइरसको संक्रमणले संसार समस्यामा परिरहेका बेला चीनमाथि विभिन्न आशंकाहरू बढिरहेका छन् ।

पश्चिमा देशहरूले चीन सरकार र वुहानको इन्टिच्युट अफ भाइरोलोजीका विषयमा विभिन्न प्रकारका प्रश्नहरू खडा गरेका छन् ।

केही व्यक्तिले यो थ्यउरीमा दम भएको बताएका छन् । कोरोना भाइरस वुहानको ल्याबबाट लिक भएर मानिसमा फैलिएको दाबी गरिरहेका छन् ।

पछिल्लो समय केही तस्बिरको आधारमा वुहानको एक ल्याबबाट कोरोना भाइरसको संक्रमण फैलिएको दावी गरिएको छ । वुहान इन्टिच्युट अफ भाइरोलोजीको एक फ्रिजको फुटेको सिलबाट भाइरस बाहिर आएको दाबी गरिएको छ ।

बास्तवमा वुहानको इन्टिच्युट अफ भाइरोलोजीको यो तस्बिर पहिलो पटक सन् २०१८ मा चाइना डेली न्युजपेपरले ट्वीटरमार्फत सार्वजनिक गरेको थियो ।

पछि यो ट्वीटलाई डिलेट गरियो । त्यहीँ फोटो पश्चिमा मिडियाले भाइरल बनाएका छन् । कतिपयले पहिलेको मिति पनि सच्याएर सार्वजनिक गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चाइना डेली पत्रिकाले ल्याबका फोटोसँग लेखेको थियो, ‘एसियाकै सबैभन्दा ठूलो भाइरल बैंकको एक दृश्य । सेन्ट्रल चीनको हुबेईस्थित वुहान इन्टिच्युट अफ भाइरोलोजी, जहाँ १५०० भन्दा धेरै भाइरस स्ट्रेन्सको संरक्षण गरेर राखिएको छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो तस्बिरका आधारमा चीनलाई आरोप लगाइरहेका छन् ।

उनले यो घटनाको जाँच गर्ने पनि बताएका थिए । शुक्रबार उनले अमेरिकाको तर्फबाट वुहान इन्टिच्युटका लागि दिने आर्थिक सहायता पनि अब नदिने बताएका थिए ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले पनि ल्याबबाट भाइरस लिक भएको विषयमा बेइजिङले सत्य सत्य जानकारी गराउनु पर्ने बताएका थिए ।

अमेरिकी विदेशमन्त्री पोम्पियोले भनेका थिए, ‘यदि चीनले संसारभरका वैज्ञानिकलाई त्यहाँ लगेर कसरी फैलियो भन्ने देखाएमा संसारका लागि सहयोग हुने थियो । उसका लागि पनि भलो हुने थियो ।’

वासिङ्टन पोष्टको एक रिपोर्टमा अमेरिकी राजनीतिज्ञले वुहानको ल्याबमा भएका जानकारी अमेरिकी सरकारलाई गराएका र त्यसमा चमेरो सम्बन्धि भाइरसका विषयमा महत्वपूर्ण सूचना भएको उल्लेख गरिएको छ । वासिङ्टनपोष्टको समाचारमा अमेरिकालाई त्यहाँबाट महामारी फैलिँदैछ भन्ने जानकारी पहिल्यै रहेको पनि दावी गरिएको छ ।

चीन सरकारले भने पश्चिमा देशका सबै आरोपको खण्डन गरेको छ । आरोप पुष्टि गर्न बेइजिङले चुनौती दिएको छ । कतिपयले भने चीनलाई सिध्याउनका लागि त्यहीँ ल्याबबाट अमेरिकाले भाइरस छाडिदिएको दावी गरेका छन् ।

 

Published : Monday, 2020 April 20, 11:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया