कोरोना रोकथाम सरकारले एक्लै गर्न सक्दैन, कांग्रेसले साथ दिन्छः सभापति केसी

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटले कोरोना भाइरसको संक्रमणबाट जुध्नका लागि सरकारको एक्लो प्रयास पर्याप्त नहुने भन्दै सरकारले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्ने जनाएको छ ।

नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीले आइतबार विज्ञप्ति जारी गरेर सबै पक्षलाई समेटेर अघि बढ्नु पर्नेमा सरकार समन्वय र सहकार्यको शब्दसमेत सुन्न नचाहने आरोप लगाएका छन् । उनले सरकारलाई अव्यवहारिक, असंहिष्णु र अनुदार स्वरूपमा प्रस्तुत हुनुले सिङ्गो मुलुकलाई आश्चर्यचकित बनाएको बताएका छन् ।

‘महामारीको नाममा भएका भ्रष्टाचारका श्रृङ्खला, नेकपाका कार्यकर्तालाई पैसा बाँडेर भोकै, प्यासै रहेका निमुखा, गरिब र मजदुरका विरुद्ध परिचालन गर्नु, सुकुम्बासी समस्या समाधान समिति बनाउनुजस्ता बेमौसमी कार्यले आम नागरिक र बौद्धिक समुदाय सबैलाई निराश बनाएको छ’, सभापति केसीले भनेका छन् ।

‘भोका जनतालाई एक पेट खान दिने राहतमा समेत भोटको जोडघटाउ गर्नु, भोको मान्छेसँग नागरिकता र फोटो माग्नु र आफ्नो भूमिमा छिर्न चाहने नागरिकलाई अनागरिक देखी निर्विवेकपूर्ण व्यवहार गर्नुले वर्तमान ओली सरकार फासिष्ट र भ्रष्टहरूको झुण्ड मात्र रहेको पुष्टि भएको छ’, उनले विज्ञप्तिमा भनेका छन्, ‘यो अवस्थामा सरकारबाट समन्वय र सहकार्यको आशा राख्नुको कुनै अर्थ छैन ।’

‘सरकारको अकर्मण्य र विवेकहीन चरित्रले नेपाली कांग्रेसलाई सामाजिक उत्तरदायित्वप्रति अझ जिम्मेवार र संवेदनशील बनाएको छ’, उनले भनेका छन्, ‘पार्टीले सरकारी कमाण्डभित्रै समेटिएर महामारीविरुद्ध देशलाई योगदान गर्ने तथ्य पटकपटक दोहो¥याउँदै आएको छ र यो सिद्धान्तमा अहिले पनि दृढ छ ।’ उनले यो संकटमा कांग्रेस भूमिकाहीन र अकर्मण्य रहन नसक्ने जनाएका छन् ।

‘आउँदा दिनमा सङ्कट अझ गहिरिने लक्षण देखिँदै छ । एकातिर महामारी र अर्कातिर भोकमरी’, उनले भने, ‘यी दुबै सङ्कटबाट नागरिकलाई बचाउनु नेपाली कांग्रेसको दायित्व हो ।’
‘यसै विषयलाई लिएर पार्टी जिल्ला कार्यसमितिका पदाधिकारीहरूको आइतबार बिहान भएको छलफलबाट नेपाली कांग्रेस जिल्लास्तरीय राहत कोष निर्माण गर्ने निर्णय भएको छ’, केसीले भने, ‘पार्टीका सबै तहका समिति एवं भातृ तथा शुभेच्छुक संगठनहरूले कोषलाई सुदृढ पार्दै राहतको व्यवस्थापन गर्ने यो अभियानमा सक्रियतापूर्वक कार्य गर्नुहुन अनुरोध छ ।’

‘पार्टीका सबै प्रकारका कार्यकर्ता वा सदस्यहरूले आफ्नो हैसियत अनुसारको नगद रकम वा तत्काल नबिग्रने गुणस्तरीय उपभोग्य सामग्री सिधै वा सम्बन्धित वडारगाउँरनगर समितिमार्फत कोषमा जम्मा गर्नुपर्नेछ’, नुवाकोट कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

‘पार्टी केन्द्रीय नेता, सांसद र सांसद उम्मेदवारहरूले यथोचित रकम कोषमा जम्मा गर्नुपर्नेछ’, सभापति केसीले भने, ‘कोषमा जम्मा हुने रकम वा राहत सामग्री जुन गाउँ वा नगरका बासिन्दाहरूबाट प्राप्त भएको हो सोही गाउँ वा नगरका लागि वितरण गरिनेछ ।’

‘पार्टीका सांसद र सांसद उम्मेदवारले उपलब्ध गराउने रकम सम्बन्धित निर्वाचन क्षेत्रभित्र र केन्द्रीय नेताहरूको तर्फबाट प्राप्त हुने रकम जिल्लाभित्र वितरण गरिनेछ’, उनले भने, ‘कोषमा प्राप्त रकम र जिन्सी बाट राहत वितरण गर्दा ‘वान डोर सिस्टम’ अनुसार प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित गाउँपालिका र नगरपालिका वा वडासँग समन्वय गरी खाद्यान्न राहतमा प्रयोग गर्ने व्यवस्था गरिनेछ ।’

‘यसको समग्र संयोजनका लागि पार्टीका पदाधिकारी, क्षेत्रीय सभापतिहरू, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, नेपाल ट्रेड युनियन कांग्रेस, नागरिक समाज र उद्योग वाणिज्य संघका प्रतिनिधि नेका सम्पर्क समिति को प्रतिनिधि ,रहेको जिल्ला समन्वय समिति रहनेछ’, विज्ञप्तिमा भनिएको छ ।

‘पार्टीका सबै नेता, कार्यकर्ता तथा देशविदेशमा रहने सबै शुभेच्छुकहरू, उद्योगी,ब्यापारी र इच्छुक सर्वसाधारण नागरिकहरूमा कोषमा आफ्नो हैसियत अनुसारको सहयोग कोषमा दाखिला गर्न नेपाली कांग्रेस नुवाकोट हार्दिक आह्वान गर्दछ’, केसीले भनेका छन् ।

‘कोषमा जम्मा गर्ने रकम नेपाल बैंक लिमिटेड विदुरको खाता नम्बर ००२६११००२८६११०००००१ मा जम्मा गर्नुपर्नेछ । ब्यक्तिलाई दिएको रकमको पार्टी जिम्मेवार हुने छैन’, नुवाकोट कांग्रेसका सभापति केसीले अपील गरेका छन् ।

Published : Sunday, 2020 April 19, 4:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया