मन्त्री भट्ट भन्छन्, ‘लकडाउनका बेला सडकमा निस्कदा समस्या हुँन्छ’

काठमाडौं । लकडाउनका कारण समस्यामा परेर पैदल घर जान हिँडेका सर्वसाधारणका विषयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले कठोर टिप्पणी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री भट्टले चोरबाटोबाट हिँड्ने नागरिकहरूका विषयमा सरकारलाई जानकारी नरहेको बताए ।

‘चोरबाटोबाट सडकमा देखिने जनतालाई सरकारले केही गर्न सक्दैन’, उनले भने, ‘जनतालाई समस्या छ भने हामीलाई भन्नु पर्‍यो नि । लकडाउनका बेला सडकमा निस्कने होइन ।’
मन्त्री भट्टले सरकारलाई जानकारी नै नदिएर लकडाउनका बेला सडकमा हिँडेपछि समस्या पर्नु स्वभाविक भएको बताएका छन् ।

‘हामीलाई जानकारी आउनु पर्‍यो नि, तथ्याङ्कहरू हुनु पर्‍यो नि’, उनले भने, ‘हामीलाई थाहा नै छैन, अनि हामीले केही गर्न सकिदैन ।’

पैदल यात्रामार्फत घर जानुलाई मन्त्री भट्टले चोरबाटोबाट गएको भन्दै आपत्ति जनाएका छन् ।

मन्त्री भट्टले आ–आफ्नै सुरले हिड्नुलाई गलत भएको बताएका छन् । उनले सरकारलाई जानकारी दिएर मात्रै सडकमा हिड्न आग्रह गरेका छन् ।

उनले सरकारलाई सुझाव दिनेहरूप्रति पनि नकारात्मक टिप्पणी गरेका छन् । ‘कोठामा बसेर केही नगर्ने । सरकारको आलोचना मात्रै गर्नु हुँदैन’, उनले भनेका छन् ।

मन्त्री भट्टले सरकारसँग सम्पर्कमा आउने सबैलाई खाना र बस्ने व्यवस्था गरिएको बताएका छन् । सरकारले सहयोग गर्दागर्दै नागरिकहरू घर जान सडकमा निस्किएको उनले बताए ।

उनले सडकमा अल्पत्र परेकाहरूलाई सम्पर्कमा आएमा सम्वन्धित ठाउँमा पुर्‍याउने व्यवस्था गरिने आश्वासन दिएका छन् ।

‘खबर गर्नेलाई हामीले घर लैजाने व्यवस्था गर्छाैं’, उनले भने, ‘अपाङ्गता भएका सबैलाई खबर गर्नासाथ राहत उपलब्ध गराउँछौँ ।’

आपूर्तिमन्त्री भट्टले लकडाउनका कारण समस्यामा परेका सबै जनतालाई सरकारले हेरेको बताए ।

Published : Friday, 2020 April 17, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया