दाङ घर भएका १५ मजदुरलाई कांग्रेस नेताहरूद्वारा ललितपुरबाट उद्धार

काठमाडौं । काभ्रे जिल्लाबाट दाङ जान हिँडेका १५ जनाको समूहलाई ललितपुरबाट नेपाली कांग्रेसका स्थानीय नेता र प्रहरीले उद्धार गरेको छ ।

बुधबार राति काभ्रेको भकुण्डेबेसीबाट दाङ जान भनेर हिँडेका १५ जनालाई ललितपुरको महालक्ष्मी नगरपालिकाको शंखादेवी सिमथलीबाट कांग्रेस नेता जयकुष्ण बोगटीले उनीहरूको उद्धार गरेका हुन् ।

काभ्रको ईट्टाभट्टामा काम गर्दै आएका उनीहरूलाई साँझ र बिहान खान समस्या भएपछि दाङ जान भनेर हिँडेका थिए । उनीहरू एकहप्ता हिँडेर दाङ पुग्ने योजनाका साथ ललितपुर आइपुगेको कांग्रेस नेता बोगटीले बताए ।

बोगटीले दाङ हिँडेर जाँदा समस्या हुने भन्दै खान र बस्नका लागि आफूले व्यवस्था गरिदिने भनेपछि १५ जनाको समूह काभ्रे फर्र्किएको छ ।

महालक्ष्मी नगरपालिका नेपाली कांग्रेसका युवा नेता विवेककुमार कार्कीले ती १५ जना दाङ घर भएका मजदुरहरूको तत्कालका लागि खानपिनको व्यवस्था गरेका थिए ।

कार्कीले चिउरा, दालमोठ, जुस र पानीको व्यवस्था गरिदिएका थिए ।

कार्कीले दाङ पुग्न निकै कठिन हुने भन्दै बरु व्यवस्थित तरिकाले आफै बस्दै आएको ठाउँमा बस्न आग्रह गरेका थिए । त्यसपछि कार्कीले उनीहरूलाई तत्काल ३० किलो चामलको व्यवस्था गरिदिएका छन् ।

दाङ जान हिँडेका पर्शुराम बिकले खानपिनको समस्या भएपछि आफूहरू हिडेरै घर जान लागेको बताएका थिए ।

महानगरीय प्रहरी प्रभाग लुभुका इञ्चार्ज धिरेन्द्र थपलियाले १५ जनाको उद्धारमा सहयोग गरेका छन् ।

काभ्रेका स्थानीय नेताहरूसँग टेलिफोन सम्पर्क गरी विवेककुमार कार्की र जयकृष्ण बोगटीले १५ जनालाई खाने र बस्नका लागि उचित व्यवस्थापन गर्न आग्रह गरिदिएका छन् ।

बुधबार मध्यराति हिंडेका उनीहरू बिहीबार बिहान ७ बजे शंखादेवी आइपुगेका थिए । १५ जनाको समूहमा महिला र नाबालक समेत रहेका छन् ।

Published : Thursday, 2020 April 16, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया