लकडाउनको विरोधमा मुम्बईमा प्रवासी मजदुरहरूद्वारा भव्य प्रदर्शन

नयाँदिल्ली । कोरोना भाइरससँग लड्नका लागि भारतमा लकडाउनलाई ३ मेसम्म बढाएपछि महाराष्ट्रको मुम्बईमा मजदुर र स्थानीयहरूले बिरोध गर्दै सडकमा उत्रिएका छन् ।

मंगलबार मुम्बईको बान्द्रा रेलवे स्टेशनमा प्रवासी मजदूरहरूले प्रदर्शन गर्दै भिड गरेको आजतकले जनाएको छ । प्रदर्शनमा उत्रिएका मजदुरहरूले घर जानका लागि स्टेशनमा गएको जनाएका छन् ।

मजदूरहरूले लकडाउन समाप्त हुन्छ कि भन्ने अनुमान गरेका थिए । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दै लकडाउन ३ मेसम्म बढाएपछि उनीहरू आक्रोशित भएका थिए ।

प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेका थिए ।  स्थानीय प्रहरीले बल प्रयोग गरेपछि भिड तितरबितर भएको आजतकले जनाएको छ ।

महाराष्ट्र प्रदेशका गृहमन्त्री अनिल देशमुखले महाराष्ट्र सरकार मजदूरहरूलाई खानका लागि व्यवस्था गर्ने जनाएका छन् ।

मजदूरहरू सडकमा उत्रिएको सम्बन्धमा महाराष्ट्र सरकारका मन्त्री आदित्य ठाकरेले केन्द्र सरकारको आलोचना गरेका छन् । मन्त्री ठाकरेले बान्द्रा स्टेशनमा जम्मा भएका मजदूरहरूलाई हटाएको बताए ।

केही मजदूरहरूले सूरतमा दंगा गरेको जनाइएको छ । केन्द्र सरकारले प्रवासी मजदूरहरूलाई घर पठाउने विषयमा कार्यक्रम नल्याएको भन्दै महाराष्ट्र सरकारका मन्त्री ठाकरेले असन्तुष्टि जनाएका छन् ।

प्रवासी मजदूरहरूले खान र बस्नका लागि माग गरेका छन् । सबै प्रवासीलाई श्रमिक शिविरमा राखिएको छ । महाराष्ट्रमा विभिन्न आश्रय शिविरमा ६ लाखभन्दा धेरैलाई राखिएको छ ।

Published : Tuesday, 2020 April 14, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया