बैतडी तरुणले भन्यो, ‘सिमानामा अलपत्र परेका नेपालीहरू शरणार्थी जस्तै भए’

काठमाडौं । नेपाल तरुण दल बैतडीले कम्युनिस्ट सरकारले आफ्ना नागरिकप्रति देखाएको व्यवहारले शरणार्थीभन्दा पनि ठूलो पीडा भोग्नु परेको जनाएको छ ।

तरण दल बैतडीले शुक्रबार विज्ञप्ति जारी गरेर सिमानामा रोइकराइ गरेर नेपाल प्रवेश गर्न खोजेका नेपालीहरूलाई उचित व्यवस्थापन गर्न माग गरेको हो ।

स–साना दुधे बालक समेतका आम नागरिकलाई नेपालमा ल्याई क्वारेन्टाइनमा राखेर उनीहरूको गास, बास, कपास र स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन तरुण दलले सरकारसँग आग्रह गरेको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको सन्त्रासले नेपालमा पनि लकडाउन भएको छ ।

लकडाउन भएपछि दाल, चामल, नुनु, तेलका लागि भारतमा मजदुरी गर्ने नेपाली दाजुभाई दिदीबहिनीहरू घरफर्कन चाहेको तरुण दलले उल्लेख गरेको छ ।

सुदूरपश्चिमका विभिन्न सीमानाकाहरू बैतडीको झुलाघाट, दार्चुला जिल्लाको धार्चुलामा स–साना दुधे बालकसहितका नेपाली मजदुर सिमानामा अलपत्र परेका छन् ।

उनीहरूले नेपाल प्रवेश गर्न पाउँ भनेर हारगुहार गरिरेको भन्दै तरुण दलले नेपालीहरूको पीडामा ध्यान दिन आग्रह गरेको छ ।

तरुण दल बैतडीका उपाध्यक्ष एवम् प्रवक्ता महेश भट्टले सरकारले आफ्ना नागरिकप्रति देखाएको व्यवहारले शरणार्थीभन्दा पनि ठूलो पीडा भोग्नु परेको बताए ।

उनले यस सम्वेदनशील घडीमा तरुण दल बैतडीको ध्यानाकर्षण भएको बताए । उनले सिमानामा रहेका नेपालीहरू नेपाल प्रवेश गर्न दिएर क्वारेन्टाइनमा राख्न आग्रह गरेका छन् ।

Published : Friday, 2020 April 3, 8:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया