कम्युनिस्टले आफैले खाएर भकारी सकेछन्ः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कसैको नाम सुन्नेवित्तिकै नेपालको इतिहासमा केही मान्छेहरूको मुटु काम्ने गरेको बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेता खतिवडाले भने, ‘कसैको नाम सुन्ने वित्तिकै मुटु काम्छ ।’ कम्युनिस्ट सरकारप्रति लक्षित गरेर खतिवडाले भ्रष्टहरूको मुटु काम्ने गरेको बताएका हुन् ।

‘दुइटा पार्टीलाई एकीकरण गरेका कमरेड खड्गप्रसाद ओली आफ्नो दलको उम्मेदवारको प्रचार गर्ने बेलामा काठमाडौंमा सेलिब्रेटी उम्मेदवार छ भन्नुभयो ।’

खतिवडाले ओलीले आफ्नो दल एमालेका उम्मेदवारको पक्षमा प्रचार गर्नुको साटो गगन थापाको पक्षमा प्रचार गरिदिएको बताए ।

‘सायद त्यसैको परिणाम हुनुपर्छ एक वर्षपछि ओलीजीले पोलपोलमा आफ्ना फोटाहरू लगाउनुभयो’, उनले भने, ‘त्यतिखेर ओलीलाई गगन थापा देखेर ईष्या जागेको हुनुपर्छ । त्यही कारणले पोलपोलमा पोस्टर टाँस्न लगाउनुभयो ।’

‘काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेसले जितेको छ । हामी खुसी छौँ’, उनले भने, ‘कांग्रेसले बनाएको संविधानले ओली प्रधानमन्त्री बन्नुभएको छ । हामीलाई गर्व लागेको छ ।’

‘ओली सरकारले काम गरेको छैन । ओलीजीले दुई वर्षमा केही गर्न सक्नुभएको छैन’, खतिवडाले भने, ‘सरकार बलात्कार काण्ड, भ्रष्टाचार काण्डमा परेको छ ।’

कांग्रेसभित्र बेथिति रहेको बताएका खतिवडाले मिलेर कांग्रेसलाई बचाउनुपर्ने बताए । ‘कहिले काहिँ सभापतिलाई मैले ब्याङ्ग्य गरेर भन्ने गरेको छ, सभापतिले भनेको म बुझ्दैन । हामीले भनेको उहाँले सुन्नु हुन्न’, उनले भने, ‘धन्न पार्टी चलेको छ । हामी एक हुनुपर्छ । मिलेर अगाडि बढ्नुपर्छ ।’

उनले भने, ‘कम्युनिस्टहरूले गाउँगाउँमा सहकारी जनताको घरमा भकारी भनेका थिए । अहिले सहकारी र भकारी आफैले खाएर सकेछन् ।’

Published : Friday, 2020 February 21, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया