नेविसंघविरुद्ध लाग्ने धुन्दुकारीहरूलाई राजीव ढुंगानाले दिए चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष राजीव ढुंगानाले विगतका तिक्तताहरू भुलेर विवाद समाधान गरी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा सहभागी हुन अपील गरेका छन् ।

नेविसंघको काठमाडौं उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ढुंगानाले स्ववियु निर्वाचनका लागि नेविसंघ तयारी अवस्थामा रहेको बताए । उनले निर्वाचनमा जानु अगाडि नेविसंघभित्र देखिएका स–साना मतभेदहरूलाई अन्त्य गरिने बताए ।

उनले नेविसंघले चन्दा नउठाउने बताए । ‘नेविसंघबाट चन्दा आतंक मच्चाएको कुरा सुन्न पाउनु हुनेछैन’, उनले भनेका छन् ।

‘उपत्यकाभित्रको दुई वटा विवाद समाधान हुन्छ । नेविसंघको कार्यसमितिको नाम भित्तामा टाँसिने छैन’, अध्यक्ष ढुंगानाले भने, ‘विगतका तिक्तता भुल्ने हो । नेविसंघका नेताहरूलाई कमिटी बनाउन अध्यक्ष वा महामन्त्रीले चिठी दिने काममा नलाग्नु होला ।’

‘निर्वाचन भएन भने नेविसंघ नै कमजोर हुन्छ । नेविसंघ हारोस् वा जितोस् प्रवाह छैन । लोकतन्त्रमा नेविसंघले विश्वास गर्ने भएकाले निर्वाचन हुनुपर्छ’, उनले भने, ‘२८ वर्षमाथिका नेताहरू उम्मेदवार बन्न पाउने छैनन् । हामीले कहिँ पनि उमेर हद हटाउने कुरा गरेका छैनौँ ।’

‘रञ्जीत कर्णको कार्यसमितिले स्वीकार गरिसकेको निर्णयलाई पछि आउने कार्यसमितिले अस्वीकार गर्दैन भन्ने हुँदैन । पहिलाको निर्णय हामीले मान्छौँ’, उनले भने ।

‘नेविसंघले निर्वाचन चाहेको छैन भनेका छन् । त्यो गलत छ । फागुन १४ गते निर्वाचन गर्ने कार्यतालिका प्रस्ताव पठायो त्रिविले ’, अध्यक्ष ढुंगानाले भने, ‘त्रिविले विद्यार्थीलाई झुक्काएको छ । निर्वाचनको घोषणा नगरिकन विद्यार्थीको आँखामा छारो हालेको छ । रेक्टर नियुक्त गर्नुपर्छ । नयाँ कार्यतालिका ल्याउनुपर्छ ।’

Published : Friday, 2020 February 21, 12:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया