खुसी भए सभापति देउवा, दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाशिवरात्रिको अवसरमा शुभकामना दिएका छन् ।

सभापति देउवाले शुभकामना सन्देश जारी गरेर हिन्दु धर्मावलम्वीहरूले अति श्रद्धाका साथ भगवान शिवको आराधना गरेर मनाइने महत्वपूर्ण र पवित्र पर्व महाशिवरात्रिका अवसरमा शुभकामना दिएका हुन् ।

उनले सम्पूर्ण हिन्दु धर्मावलम्वी दाजु–भाई तथा दिदी–बहिनीहरूमा सुख, शान्ति, संमृद्धि र सफलताका लागि हार्दिक शुभकामना प्रकट गरेका छन् ।

‘नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरू भएको मुलुक हो’, उनले भने, ‘यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ ।’

‘हाम्रा यी सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहरहरू हुन्’, उनले भने, ‘यी चाड–पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएका छन् ।’

‘नेपाली जनताको दशकौं देखिको त्याग र वलिदान स्वरुप मुलुकले प्राप्त गरेको नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न सक्यौं भने मात्र हाम्रो देश नेपाललाई शान्त, समृद्ध र समुन्नत नेपालमा रुपान्तरण गर्न सकिनेछ’, सभापति देउवाले भनेका छन् ।

‘आजको यो पुनीत अवसरमा म आफू र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्फबाट सम्पूर्ण हिन्दु धर्मावलम्वी नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरूमा सदा सुख, शान्ति र समृद्धिको हार्दिक शुभ–कामना व्यक्त गर्दछु’, उनले भनेका छन् ।

Published : Friday, 2020 February 21, 7:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया