कम्युनिस्ट सरकारद्वारा नेविसंघमाथि लाठी प्रहार, थुप्रै नेता कार्यकर्ता घाइते

काठमाडौं । कम्युनिस्ट सरकारका निवर्तमान मन्त्री गोकुल बास्कोटाको ७० करोडको कमिसन काण्डको विरोधमा उत्रिएका नेविसंघका कार्यकर्तामाथि प्रहरीले लठ्ठी हानेको छ ।

बिहीबार साँझ नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेको थियो । नेविसंघको प्रदर्शनमा कम्युनिस्ट सरकारका प्रहरीहद्वारा अन्धाधुन्द रुपमा लाठी प्रहार गरेको नेविसंघका अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए ।

घाइतेहरूकाे बागबजारस्थित माेडल अस्पतालमा उपचार भइरहेकाे छ । कांग्रेसका नेताहरूले घाइतेकाे स्वास्थ्य अवस्थाकाे जानकारी लिएका छन् ।

गोकुल बास्कोटाको काण्डलाई अनुसन्धानको दायरामा ल्याई कडा कार्वाही गर्न माग राख्दै नेविसंघले प्रदर्शनी मार्गमा गरेको शान्तिपूर्ण विरोध प्रर्दशनमा प्रहरीले व्यापक हस्तक्षेप गरेको नेपाली कांग्रेसले जनाएको छ ।

‘सरकारको आडमा सुरक्षाकर्मीद्वारा विद्यार्थी नेताहरूमाथि लाठी प्रहार गर्ने र सख्त घाइते बनाएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रर्दशनी मागमा भएको आजको विरोध प्रदर्शनमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, महामन्त्री उर्मिला थपलिया, महामन्त्री महेश्वरी कुँवर, महामन्त्री युवराज पाण्डे, विद्यार्थी नेताहरू सुरज सैजुवाल, हरि आचार्य, दीपक रिमाल, रामजी बस्नेत, सुनिल पन्त, तिलक बटला, रमित खड्का लगायत दर्जनौं विद्यार्थी घाइते भएका छन् ।

बिहीबार अपरान्ह काठमाडौंको त्रिभुवन विमानस्थलको मूल द्वारमा नेपाली विद्यार्थी संघ आवद्ध विद्यार्थीले शान्तिपूर्ण रुपमा कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गर्दा प्रहरीको हस्तक्षेपबाट रविन्द्र रोकाय, राकेश शिवाकोटी, विपिन बुढाथोकी, विष्णुहरि खड्का, अनिल खनाल, गोपी भण्डारी, विवेक उप्रेती लगायतका विद्यार्थी घाइते भएका थिए । घाइते विष्णुहरि खड्कालाई सुरक्षाकर्मीले गिरफ्तार गरेको थियो ।

‘शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार माथि वर्तमान सरकारले ठाडो हस्तक्षेप गरेको छ’, कांग्रेसले भनेको छ, ‘यस घटनाले सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र उदाङ्गो बनाएको छ । यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।’

‘घाइते विद्यार्थी नेताहरूको उपचारको व्यवस्था र गिरफ्तार विद्यार्थीलाई तुरुन्त रिहाई गर्न नेपाली कांग्रेस माग गर्दछ’, नेपाली कांग्रेसले भनेको छ ।

Published : Thursday, 2020 February 20, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया