कांग्रेसले कम्युनिस्ट सरकारको सातो लियो, संसद खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसले सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरी कारबाही गर्न माग गर्दै संसद अबरुद्ध गरेको छ ।

बिहीबार झण्डै दुई घण्टा ढिला गरी शुरु भएको संसद बैठकमा कांग्रेसले मन्त्री बास्कोटालाई बर्खास्त गर्न माग गर्दै सदन अबरुद्ध गरेको हो ।

कांग्रेसकी सचेतक पुष्पा भुसालले संसदमा बोल्दै सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्री बास्कोटाले ७० करोड रुपियाँ कमिसन माग गरेको अडियो रेकर्डले सरकारका मन्त्री भ्रष्टाचारमा कति लिप्त छन् भन्ने कुरा पुष्टि भएको बताइन् । प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रशंसा गरेको प्रसंग उठाउँदै भुसालले भनिन्, ‘प्रधानमन्त्रीज्यूले आफ्ना मन्त्री गोकुल बास्कोटालाई तुरुन्त बर्खास्त गर्नुपर्छ ।’

‘गोकुल बास्कोटालाई मात्रै कारबाही गरेर पुग्दैन’, उनले भनिन्, ‘यो विषयमा छानविन गर्नुपर्छ । प्रधानमन्त्रीले यो विषयलाई सदनलाई जानकारी दिनुपर्छ ।’

बालुवाटारको जग्गाा फिर्ता गरेका कारण कारबाही हुँदैन भने जस्तै मन्त्री बास्कोटालाई कारबाही नहुने कुरा भयो भने कांग्रेसले स्वीकार नगर्ने बताइन् । उनले मन्त्री बास्कोटाको कमिसन काण्डको जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने बताइन् ।

कांग्रेसकाे अबराेधपछि संसदको बैठक फागुन १३ गतेसम्मका लागि स्थगित भएको छ ।

Published : Thursday, 2020 February 20, 3:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया