नेकपाले जितेको नगरपालिकामा प्रमुख र उपप्रमुख भारत जाँदा सार्वजनिक विदा

नुवाकोट । कम्युनिस्टहरूले जितेको नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाले मेयर र उपमेयर भारत भ्रमण जाँदा सार्वजनिक बिदा दिएको छ ।

बिदा दिएर मेयर राजेन्द्ररमण खनाल र उपमेयर कविता ढुंगाना सोमबार भारत गएका छन् । मेयर खनाल तत्कालीन नेकपा (एमाले)बाट उम्मेदवार बनेर विजयी भएका थिए ।

उपमेयर ढुंगाना तत्कालीन माओवादीबाट उम्मेदवार बनेर विजयी भएकी थिइन् ।

नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १३ का वडाध्यक्ष पशुपति लोहनीले मेयर र उपमेयर युएनओपिएस नामक संस्थाको कार्यक्रममा भाग लिन भारत गएको जानकारी दिए ।

मेयर र उपमेयर भारत जाने दिन सार्वजनिक बिदा दिएपछि गाउँपालिकामा आलोचना भएको छ । सार्वजनिक विदा दिएकोमा वडाध्यक्षहरू असन्तुष्ट बनेका छन् ।

नगरपालिकाका अधिकृत शिवराम अधिकारीले माघ २४ गते सूचना निकालेर सोमबार बिदा दिने उल्लेख गरेका छन् ।

नगरपालिकाले दिएको विदाको सूचनामा माघ २७ गते नगरपालिका स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय भएको उल्लेख छ ।

नगरपालिकाकै विवरणमा नगरपालिका माघमा नभई फागुन २७ गते स्थापना भएको छ ।

एक महिनापछि आउने स्थापना दिवसको बिदा एक महिना अघि दिएर मेयररउपमेयर भारत हिँडेका हुन् ।

स्थापना दिवस मनाउने सूचना आएपछि वडाध्यक्षहरू छक्क परेका छन् ।

वडाध्यक्ष लोहनीले एक महिना अगाडि स्थापना दिवसका लागि सार्वजनिक बिदा दिने निर्णय भएकोमा आफूलाई अचम्म लागेको बताएका छन् ।

सूचनामा माघ २३ मा बैठक गरेर बिदा दिने निर्णय भएको भनिए पनि उक्त बैठकमा को–को उपस्थित थिए भन्ने खुलेको छैन ।

बिदा दिने निर्णयबारे वडाध्यक्ष र नगरकार्यपालिका सदस्यहरू पनि थाहा नभएको बताएका छन् ।

युएनओपिएस नामक संस्थाले नुवाकोटमा भूकम्पपछि निजी आवास पुनर्निर्माणमा सघाउँदै आएको छ ।

संस्थाले भारतमा भएका पुनर्निर्माणसम्बन्धी ज्ञान सिकाइका लागि भन्दै जनप्रतिनिधिलाई माघ २६ देखि फागुन २ सम्म उपस्थित हुन पत्रसमेत पठाएको थियो ।

Published : Wednesday, 2020 February 12, 8:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया