कांग्रेस निकटका महिलाहरूद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल महिला संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको राजनीतिक पूर्वाग्रह राखेर बालुवाटार जग्गा प्रकरणमा निर्णय गरेको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

काठमाडौंको माइतीघर मण्डलामा सोमबार नेपाल महिला संघले भव्य प्रदर्शन गरेको हो । प्रदर्शनमा नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूको पनि सहभागिता रहेको थियो ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वक्ताहरूले कम्युनिस्ट सरकारको दवाव र निर्देशनमा अख्तियारले बालुवाटार जग्गा प्रकरणमा निर्णय गरेको आरोप लगाए ।

उनीहरूले बालुवाटार जग्गा प्रकरणका प्रमुख दोषीहरू माधवकुमार नेपाल, विष्णु पौडेल र उनका छोरा नवीन पौडेल, लीलामणि पौडेललाई उन्मुक्ति दिएर नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई मात्रै मुद्धा चलाएको भन्दै आक्रोश पोखे ।

उनीहरूले कम्युनिस्ट अधिनायकवाद ल्याउन नेपाली कांग्रेसमाथि प्रहार शुरु गरेको बताए । नेपाली कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने र कम्युनिस्टहरूको उदेश्य पूरा हुने वक्ताहरूले आरोप लगाए ।

नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले अख्तियारको दुराशयपूर्ण निर्णयको विरोध गर्दै लगातार प्रदर्शन गर्दै आएका छन् ।

Published : Monday, 2020 February 10, 4:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया