संकट परेपछि एक भयो कांग्रेस, अब कम्युनिस्टसँग फाइनल ‘भिडन्त’

काठमडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा सोमबार बस्ने बैठकमा अनुदारवादी कम्युनिस्ट सरकारको हर्कत र क्रियाकलापका विषयमा छलफल हुने केन्द्रीय सदस्य अतहर कमाल मुसालमानले जानकारी दिए ।

उनले लोकतन्त्रलाई कमजोर बनाउन कम्युनिस्ट सरकारले कांग्रेस र कांग्रेसका नेताहरूमाथि क्रमवद्ध रुपमा आक्रमण गरेको बताए ।

‘हामी व्यक्तिलाई बचाउन लागेका छैनौँ । हाम्रो चासो र चिन्ता भनेको मुख्य दोषीहरूलाई नेकपाको रातो झण्डा ओढाएर बचाइयो । कांग्रेसका नेतालाई मात्रै फसाइयो भन्ने हो’, उनले भने, ‘बालुवाटार जग्गा प्रकरणमा दोषी पाइए कारबाही सबैलाई हुनुपर्छ ।’

नेपाली कांग्रेसलाई कमजोर बनाएपछि लोकतन्त्र कमजोर हुने र कम्युनिस्टहरूले मुलुकलाई अधिनायकवादमा लैजाने षड्यन्त्र भएको केन्द्रीय सदस्य मुसलमानले बताए ।

उनले विजय गच्छदार दोषी ठहरिँदा उनकै क्याबिनेटको अध्यक्षता गर्ने प्रधानमन्त्री माधवकुरमा नेपाल, जग्गाको लालपुर्जा गोजीमा राख्ने विष्णु पौडेल, मुख्य सचिव लीलामणि पौडेल कसरी निर्दोष हुन्छन् भनेर प्रश्न उठाएका छन् ।

देश, जनता, लोकतन्त्रलाई नेपाली कांग्रेसले मात्रै बचाउन सक्ने नेता मुसलमानले बताए । ‘अब कम्युनिस्टहरूको दमन, अत्याचार, ज्यादती, भ्रष्टाचारलाई कांग्रेसले सहेर बस्ने छैन’, उनले भने, ‘त्यसका लागि फाइनल भिडन्तको अवस्था आउँदै छ । लोकतन्त्र बचाउन कांग्रेस कम्युनिस्टहरूका विरुद्ध जनतामा जानुपर्ने समय नजिक आइसक्यो ।’

नेपाली कांग्रेसको बैठकमा पार्टीको आन्तरिक विषय र संसद र सडक आन्दोलनका विषयमा पनि छलफल हुनेछ ।

Published : Monday, 2020 February 10, 12:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया