राष्ट्रपतिको जिल्लामा तरुणको शानदार कार्यक्रम, कम्युनिस्टलाई तनाब

भोजपुर । नेपाल तरुण दल भोजपुरले बालुवाटार जग्गा प्रकरणमा मुख्य दोषीहरूलाई उन्मुक्ति दिएर नेपाली कांग्रेसका नेतालाई मात्रै मुद्धा चलाएको विरोधमा प्रदर्शन गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कम्युनिस्ट सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको ललिता निवास जग्गा प्रकरणमा सहभागीहरूको नामावली तत्काल सच्याउन माग गर्दै भोजपुर तरुण दलले आइतबार प्रदर्शन गरेको हो ।

नेपाल तरुण दल केन्द्रीय कार्यालयको निर्देशनमा देशभरिका जिल्ला कार्य समितिहरूले आइतबार प्रदर्शन गरेका छन् ।

भोजपुरमा पनि विरोध प्रदर्शन गरेको नेपाल तरुण दल जिल्ला कार्यसमिति भोजपुरका अध्यक्ष सरोज बस्नेतले जानकारी दिएका छन् ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेकपाका नेतालाई उन्मुक्ति दिएर कांग्रेस नेतालाई बदनियतपूर्ण ढंगले मुद्दा लगाउने निर्णयका विरुद्ध तरुण दल भोजपुरले विरोध ¥याली सहित भोजपुरको चारभञ्ज्याङमा कोण सभा गरिएको छ ।

विरोध ¥याली पश्चात कोण सभालाई सम्वोधन गर्दै नेपाली कांग्रेस भोजपुरका सभापति नन्दमणि राईले ललिता निवास जग्गा प्रकरणमा सरकारले राजनीतिक प्रतिशोध र बदनियतपूर्ण ढंगले कारबाही गरेको आरोप लगाए ।

‘कम्युनिस्ट सरकारले आफ्नो पार्टीका भ्रष्टचारीलाई कारवाही नगरी क्लीनचिट दिएको छ’, सभापति राईले भने, ‘सरकारले भ्रष्टचारलाई संरक्षण गरेको छ । यसका विरुद्ध सबै नेपालीले खुलेर विरोध गर्न आवश्यक छ ।’

नेपाल तरुण दल भोजपुरका अध्यक्ष सरोज बस्नेतले नेकपाको सरकार वर्तमान स्थितिमा नालायक सरकार साबित भएको बताए ।

‘सुनकाण्ड, निर्मला हत्या काण्ड, सञ्चार विधेयक र ललिता निवास जग्गा प्रकरणले सरकारको हैसियत थाहा भएको छ’, उनले भने, ‘दुईतिहाइको दम्भ तोडिएको छ । जनताले अब अधिनायकवादी नेकपालाई संसदबाट सडकमा ल्याउनेछन् ।’

नेपाली कांग्रेस पौवादुङमा गाउँपालिका सभापति मनोज कार्कीले नेकपाको स्थानीय, प्रदेश र संघीय सरकारले गरेका कामले जनतामा निरासा छाएको बताए ।
‘पावर र दम्भको आडमा नेकपाले मनपरी गर्न मिल्दैन’, कार्कीले भने, ‘आफ्नालाई ठेक्का, डोजर मालिक, उपभोक्ता समिति अध्यक्ष बनाएर राजनैतिक पावरको आडमा गरेको भ्रष्टचार नियन्त्रण गर्न सकेमा मात्र देशको विकास हुनेछ ।’

सभापति कार्कीले भ्रष्टचारको विरुद्धमा लाग्न सबै नागरिकलाई आग्रह गरेका छन् ।

विरोधसभामा बोल्ने नेताहरूले बालुवाटारको सरकारी जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधव नेपालको अध्यक्षतामा भएको निर्णयमा माधव नेपाललाई जोगाई राजनीतिक प्रतिशोध गर्दै फाईल पेश गर्ने तत्कालीन मन्त्री विजयकुमार गच्छदारलाई मात्र मुद्धा लगाउनु राजनैतिक प्रतिशोध भएको बताए ।

उनीहरूले माधव कुमार नेपाल, बाबुराम भट्टराई र विष्णु पौडेल, लीलामणि पौडेलसमेतलाई कारवाही गर्न माग राखेका छन् ।

विरोधसभामा नेपाली कांग्रेसका भ्रातृ संस्थाहरू नेपाल महिला संघ, नेपाल सांस्कृतिक संघ, नेपाल दलित संघ, नेपाल विद्यार्थी संघ, नेपाली कांग्रेस पौवादुङमा गाउँपालिका सभापति मनोज कार्की लगायत जिल्लास्थित नेता तथा कार्यकर्ताहरूको उपस्थिती रहेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला भोजपुरमा नेपाली कांग्रेसले आफूलाई बलियो बनाउँदै लगेको छ ।

Published : Monday, 2020 February 10, 9:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया