पूर्वमा तरुणले कम्युनिस्टविरुद्ध आगो बाले, गच्छदारको जिल्लामा भव्य प्रदर्शन

ईटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही ढंगले नेपाली कांग्रेसका उप–सभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारबिरुद्ध बिशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको भन्दै नेपाल तरुण दल सुनसरीले विरोध प्रदर्शन गरेको छ ।

सुनसरी तरुण दलले बराहक्षेत्र नगरबाट बिरोध स्वरुप राँके जुलुस प्रदर्शन गरेको छ । तरुण दलले गच्छदारको गृहजिल्ला सुनसरीको दुहबीमा विशाल राँके जुलुस र कोणसभा गरी अख्तियारको विभेदकारी निर्णय फिर्ता लिन माग गरिएको छ ।

तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा दुहबीका विभिन्न बाईपास सडकबाट एकैसाथ हजारौंको संख्यामा कांग्रेस कार्यकर्ता, तरुण नेता तथा कार्यकर्ताको राँके जुलुसमा उपस्थिति रहेको थियो ।

राँके जुलुस सहितको प्रदर्शन दुहबीको मुख्य चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले पदीय दुरुपयोगको छानबिन गर्न नेपाली कांग्रेसकै सरकारले गठन गरेको अख्तियार वर्तमान नेकपाको भातृ संगठनको रुपमा परिणत भएको आरोप लगाए ।

अख्तियारको यस्तै रबैया रहे देशभरिका तरुणहरू चुप लागेर नबस्ने बताए । उनले बालुवाटारको जग्गा काण्डमा सबैलाई कारबाही हुनुपर्ने माग गरे ।

नेपाली कांग्रेसका नेता गच्छदारलाई मात्रै राजनीतिक पूर्वाग्रही भएर मुद्धा चलगाउने निर्णय भएको भन्दै अध्यक्ष गुरुरूले आक्रोश व्यक्त गरेका छन् ।

अध्यक्ष गुरुङ्गले अख्तियारले जहिले पनि नेकपालाई बोक्ने तथा कांग्रेसलाई ठोक्ने नीति अख्तियार गरेको भन्दै लाल झण्डा ओढेका भ्रष्टहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

नेपाली कांग्रेसका महासमिति सदस्य एवं दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले कम्युनिस्ट सरकारले आफ्ना ठूला भ्रष्टाचार तथा कर्तुत लुकाउन ललिता निवासको जमीन प्रकरणमा भूमिका नभएका कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका रुपमा अख्तियारले गोटी बनाएको आरोप लगाए ।

Published : Sunday, 2020 February 9, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया