काठमाडौंमा तरुणको भव्य प्रदर्शन, माधव–विष्णु–लीलालाई कारबाही गर्न माग (तस्वीर)

काठमाडौं । नेपाल तरुण दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रही भएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूलाई उन्मुक्ति दिएको भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेसको निर्देशनमा तरुण दलले आइतबार काठमाडौंको माइतीघर मण्डलामा कम्युनिस्ट सरकार र अख्तियारका विरुद्ध प्रदर्शन गरेको हो ।

नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँका अनुसार विरोध र्‍यालीमा काठमाडौं, भक्तपुर, ललितपुरका तरुण तथा भ्रातृ संस्थाका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतको नेतृत्वमा माइतीघर मण्डालाबाट शुरु भएको विरोध र्‍याली नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई तरुण दलका अध्यक्ष बस्नेतसहितका नेताहरूले सम्बोधन गरेका थिए ।

उनीहरूले राजनीतिक पूर्वग्रही भएर नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई बालुवाटार प्रकरणमा मुद्धा चलाउने र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, बाबुराम भट्टराई, महासचिव विष्णु पौडेल र तत्कालीन मुख्य सचिव लीलामणि पौडेललाई उन्मुक्ति दिएको भन्दै आक्रोश पोखे ।

कोण सभालाई सम्बोधन गर्ने नेताहरूले बालुवाटार जग्गा प्रकरणमा दोषी सबैलाई कारबाही गर्न माग गरे । उनीहरूले कम्युनिस्ट नेताहरूलाई छुट दिएर कांग्रेसलाई फसाउने कार्य अख्तियारको दुरासयपूर्ण निर्णय भएको बताए ।

Published : Sunday, 2020 February 9, 2:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया