ओलीको पुरस्कार मोह : काम नगर्ने, पुरस्कार देखाएर आलोचनाबाट बच्ने

काठमाडौं । क्रिश्चिय धर्मप्रचारक संस्थाको एक करोड पुरस्कार पाएको आलोचना सेलाउन नपाउँदै कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली आर्को पुरस्कार पाएर विवादमा परेका छन्

एउटा नामै नसुनिएको अन्तर्राष्ट्रिय संस्थाले ओलीलाई ‘दूरद्रष्टा तथा राष्ट्रनिर्माता’ भनेर सम्मान गरेपछि ब्याङ्ग्य भएको छ । ओलीका शुभेच्छुकहरूले सम्मानको बचाउ गरेका छन् ।

एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स् (आमो) नामक संस्थाले ओलीलाई शुक्रबार काठमाडौंमा उक्त सम्मान प्रदान गरेको थियो ।
त्यसलाई ‘आमो भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड– २०२०’ भनिएको छ ।

सरकारी सञ्चारमाध्यमहरूले पनि ओलीले पाएको सम्मानलाई प्रमुखताका साथ प्रचारप्रसार गरेका छन् ।

ओलीले यसअघि पनि विभिन्न स्थानमा लिएका मानार्थ विद्यावारिधि र सम्मानहरूको आलोचना हुने गरेको थियो ।

ओलीसहित नेताहरूले जहाँ पनि र जस्तो पनि सम्मान ग्रहण गर्न जानुलाई प्रभावकारी ढङ्गले जिम्मेवारी निभाउन नसकेर ‘मैले केही गरेको छु है’ भनेर देखाउन खोज्ने मनोवृत्तिसँग तुलना गरेको टिप्पणी गरिएका छन् ।

सरकारी र अन्य केही सञ्चारमाध्यमहरूले ‘ओली एसियाकै दूरदर्शी नेताका रूपमा’ सम्मानित भएको भन्दै खबर प्रकाशन र प्रसारण गरेको बीबीस नेपाली सेवाले जनाएको छ ।

सरकारी मुखपत्र गोरखापत्रले शनिवार प्रथम पृष्ठको मुख्य समाचारको पूरकका रूपमा ‘प्रम ओली एसियाली दूरदर्शी नेता’ शीर्षकमा उक्त समाचार छापेको छ ।

शुक्रवार प्रधानमन्त्रीको सचिवालयले पनि ‘प्रधानमन्त्री केपी ओली एसियाली दूरद्रष्टा नेता तथा राष्ट्रनिर्माण अवार्डबाट सम्मानित’ भन्दै सञ्चारमाध्यमहरूलाई उक्त कार्यक्रमका तस्बिरहरू प्रेषित गरेको थियो ।

सरकारी सञ्चारमाध्यमहरूले निकै महत्व दिएको र सामाजिक सञ्जालमा आलोचित बनेको उक्त सम्मान खासमा मानर्थ सम्मान मात्र भएको आयोजकले बताएका छन् ।

आयोजक आमोका काउन्सिल सदस्य एवम् नेपाल व्यवस्थापन संघका महासचिव मोहन ओझाले ‘उक्त अवार्ड एसियाभरका उत्कृष्ट नेताहरू छानेर नदिइएको’ बताए ।

काठमाडौंलाई भारत र चीनसँग रेलमार्गले जोड्ने लगायत पूर्वाधारलाई प्राथमिकतामा राख्ने प्रम केपि ओलीको सोच सहि छ ।

आमोले यस्तो सम्मान दिन थालेको गत वर्षदेखि मात्र हो । उसले गत वर्ष मलेशियाका राष्ट्रपति महाथिर मोहम्मदलाई यस्तै सम्मान दिएको थियो ।

धेरैले महाथिरसँग तुलना गरेर यो सम्मान खासमा सबै नेताहरूको कार्यक्षमता हेरेर दिइन्छ भन्ने ठानेको हुनसक्ने ओझाले बताए ।

नाम एसिया राखिएको भए पनि आमो एसियाभरि नै क्रियाशील छैन । यसका सदस्यहरू पनि एसियाभरि सबै देशमा नरहेको ओझाले बताए ।

आमो स्वतन्त्र, गैरराजनीतिक र गैरनाफामूलक संस्था रहेको उसको आधिकारिक वेबसाइटमा उल्लेख छ ।

आमोका हाल अस्ट्रेलिया, हङ्कङ, भारत, मकाउ, मलेशिया, नेपाल, न्युजिल्यान्ड, पाकिस्तान, फिलिपिन्स, श्रीलंका र कोरियाका गरि जम्मा ११ सदस्यहरू मात्र रहेका छन् ।

सन् १९६० तिर अस्ट्रेलियाबाट आमोको अभियान सुरु भएको र पहिले अर्कै नाममा स्थापित भइ पछि यसलाई आमो नामाकरण गरिएको वेबसाइटमा जनाइएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) का अनुसार उक्त सम्मान ग्रहण कार्यक्रममा ओलीले ‘लामो संघर्ष र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक संविधानको प्रभावकारी कार्यान्वयनसँगै सरकार समृद्धिको बाटोमा अगाडि बढिरहेको’ बताएका थिए ।

Published : Sunday, 2020 February 9, 10:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया