विष्णु पौडेलले गुमाए करोडौं रुपियाँ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल शुक्रबार करोडौँ रुपियाँ गुमाएका छन् ।

बालुवाटारको सरकारी जग्गा छोरा नवीन पौडेलको नाममा राखेका महासचिव पौडेलले शुक्रबार जग्गा फिर्ता गरेका छन् । शुक्रबार करीव ६ करोड बराबरको सम्पत्ति पौडेलले गुमाएको उच्च स्रोतले जनाएको छ ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खरिद गरेको पुष्टि भएपछि पौडेलले अष्ट्रेलियाबाट छोरा नवीनको मञ्जुरानामा मागेर सरकारलाई जग्गा फिर्ता गरेका छन् ।

बालुवाटारको जग्गाको मूल्य हाल प्रतिआना करीव ८० लाख रुपियाँ बराबरमा कारोबार चल्दै आएको छ । ललिता निवास क्याम्पभित्र उनको छोरा नवीनको नाममा आठ आना जग्गा थियो ।

त्यो जग्गा जफत हुने भएको छ । जग्गा फिर्ताका लागि उनका छोरा नवीनले सहमति जनाएका छन् । त्यही आधारमा उनीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ ।

सो जग्गा व्यक्तिको नाममा लैजान लबिङ गरेपछि शोभाकान्त ढकालले विष्णु पौडेलले जग्गा पाएको आरोप लागेको थियो । अख्तियारको छानबिनमा त्यो कुरा खुल्न सकेन ।

सर्वाेच्च अदालतका न्यायधीश कुमार रेग्मीलाई समेत मुद्दा नचलाउने निर्णय भएको छ । उनले पनि जग्गा फिर्ता दिने निवेदन दिएका थिए ।

यही विषयले गर्दा अख्तियारको मुद्दा दायरको आलोचना भएको छ । अनुसन्धान अधिकृतहरूले पौडेल र रेग्मीलाई पनि मुद्दा चलाउन सिफारिस गरेको थियो ।

आयोगको बैठकले उनीहरूविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो । कांग्रेस नेता विजयकुमार गच्छेदारविरुद्ध भने मुद्दा चलेको छ ।

Published : Sunday, 2020 February 9, 8:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया