तरुण दलले आइतबार शक्ति देखाउने, लालपुर्जा बोक्ने कम्युनिस्टलाई कारबाहीको माग

काठमाडौं । नेपाल तरुण दलले ललिता निवास, बालुवाटारको जग्गा प्रकरणमा दोषी सबैलाई कारबाहीको माग गरेर काठमाडौंमा भव्य प्रदर्शन गर्ने भएको छ ।

तरुण दल केन्द्रीय कार्यसमितिको संयोजनमा आइतबार काठमाडौंसहित देशभरि प्रदर्शन हुनेछ । तरुण दलले आइतबार माघ २६ गते काठमाडौंको माइतीघर मण्डलामा भव्य प्रदर्शन गर्नेछ ।

तरुण दलका ७७ वटै जिल्ला कार्यसमितिहरूलाई बालुवाटारका दोषीलाई कारबाहीको माग राखेर प्रदर्शन गर्न निर्देशन दिएको छ ।

कम्युनिस्ट सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूलाई बचाएर नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध मात्रै मुद्धा चलाएपछि नेपाली कांग्रेसले सडक र सदन आन्दोलन शुरु गरेको छ ।

प्रदर्शनमा सहभागी हुन नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आह्वान गरेका छन् । अख्तियारको राजनीतिक पूर्वाग्रहीपूर्ण निर्णयका विरुद्ध सडकमा प्रदर्शन गर्न लागिएको बस्नेतले बताए ।

तरुण दलले आइतबारको प्रदर्शनको तयारी स्वरुप शनिबार विभिन्न तयारीहरू गरिएको तरुण उपाध्यक्ष उत्तम चापागाइँले जानकारी दिए ।

‘आइतबारको प्रदर्शनलाई भव्य रुपमा गर्नका लागि शनिबार विभिन्न तयारीहरू भएका छन्’, उनले भने, ‘काठमाडौं उपत्यकासहित देशभरि प्रदर्शन हुनेछ । प्रदर्शनमा युवा तरुणको उल्लेख्य सहभागिता हुनेछ ।’

नेपाल तरुण दलले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णु पौडेल र तत्कालीन मुख्य सचिव लीलामणि पौडेललाई कारबाहीको माग गर्दै आएको छ ।

अख्तियारले राजनीतिक पूर्वाग्रही भएर कांग्रेसका नेतालाई मद्धा चलाएको छ । नेकपाका नेताहरूलाई उन्मुक्ति दिएको छ ।

नेकपाका नेताहरू जो बालुवाटारको जग्गा काण्डमा दोषी छन् उनीहरूलाई पनि कारबाही गर्नुपर्ने तरुण दलको माग छ ।

Published : Saturday, 2020 February 8, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया