नेविसंघ देखेपछि कम्युनिस्ट ‘सुकुम्बासी’ नेता डराए, माइतीघर मण्डला कब्जा

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बालुवाटारको सरकारी जग्गा प्रकरणमा मुख्य दोषीहरूलाई बचाएर नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई मात्रै मुद्धा चलाएको विरोधमा काठमाडौंमा भव्य प्रदर्शन गरेको छ ।

काठमाडौंको माइतीघर मण्डलामा नेविसंघले शुक्रबार भव्य प्रदर्शन गरेको हो । नेविसंघका नेता तथा कार्यकर्ताहरूले बालुवाटारका मुख्य दोषीलाई किन बचाएको भन्दै कम्युनिस्ट सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग प्रश्न गरेका छन् ।

मुख्य दोषी विष्णु पौडेललाई बचाएर विजयकुमार गच्छदारलाई मात्रै किन भ्रष्टाचारको मुद्धा भनेर नेविसंघका कार्यकर्ताहरूले ब्यानर र प्लेकार्ड बोकेका थिए ।

उनीहरूले बालुवाटारको जग्गा प्रकरणका सबै दोषीहरूलाई कारबाहीको माग गरेका छन् । उनीहरूले राजनीतिक पूर्वाग्रही भएर कांग्रेसका उपसभापति गच्छदारविरुद्ध मुद्धा दर्ता गराएको भन्दै आक्रोश पोखेका छन् ।

नेविसंघका कार्यकर्ताहरूले मुख्य दोषी माधवकुमार नेपाल र विष्णु पौडेल तथा तत्कालीन मुख्य सचिव लीलामणि पौडेललाई किन बचाएको हो भनेर कम्युनिस्ट सरकारसँग प्रश्न पनि गरेका छन् ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले लोकतन्त्रमाथि प्रहार शुरु भएको बताए । उनले अधिनायकवाद र एकतन्त्रीय शासन ल्याउने प्रयास भएको बताए । उनले यो शासन फाल्न सडकमा तरुण र विद्यार्थी सडकमा आएको बताए ।

उनले कम्युनिस्टहरूलाई बालुवाटार काण्डमा बचाएको भन्दै आक्रोश पोखे । बस्नेतले विष्णु पौडेलहरूलाई कारबाहीको माग गरे । उनले २६ गते आइतबार निषेधाज्ञा तोड्ने गरेर आन्दोलन गर्ने चेतावनी दिए ।

Published : Friday, 2020 February 7, 4:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया