लोकतन्त्र कमजोर बनाउन कांग्रेसमाथि प्रहार, पार्टीमा एकता आवश्यकः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि योजनबद्ध रुपमा प्रहार हुन थालेको बताएका छन् ।

नेपाली कांग्रेस निकटको नेपाल लोकतान्त्रिक वैदेशक रोजगार व्यवसायी फोरमको १०औँ साधारण सभाको उद्घाटन कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै देउवाले कांग्रेसलाई कमजोर बनाउन विभिन्न तरिकाले प्रहार भइरहेको बताए । उनले यस्तो अवस्थामा नेपाली कांग्रेसभित्र एकताको खाँचो अनिर्वाय भएको उल्लेख गरेका छन् ।

सभापति देउवाले वैदेशिक रोजगार व्यवसायीहरूले पनि मिलेर सहममितका साथ फोरममा नयाँ नेतृत्व ल्याएर एकताको सन्देश दिनुपर्ने बताएका थिए । ‘अहिले लोकतन्त्रलाई कमजोर बनाउन नेपाली कांग्रेस र कांग्रेसका नेताहरूमाथि प्रहार भइरहेको छ’, उनले भने, ‘यस्तो अवस्थामा हामी मिलेर जानुपर्छ । एकताको सन्देश दिनुपर्छ ।’

वैदेशिक रोजगार व्यवसायीहरूको मुलुकको अर्थतन्त्रमा ठूलो योगदान रहेको सभापति देउवाको भनाइ छ । उनले व्यवसायीहरूका समस्यालाई समाधान गर्न आफू सधैँ तयार रहेको भन्दै आगामी दिनमा साथ र समर्थन जारी राख्ने बताए ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख विपक्षी दलका नेता सुरेन्द्र पाण्डेले लोकतन्त्रलाई बचाउन कांग्रेस एकजुट हुनुपर्ने बताए । उनले कांग्रेसमाथि कम्युनिस्ट सरकारबाट भइरहेको प्रहारबाट पाठ सिक्नुपर्ने बताए । नेता पाण्डेले आगामी दिनमा कांग्रेसका लागि अझै चुनौती आउने पनि बताए ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कांग्रेस पार्टीभित्र एकताको खाँचो रहेको बताए । उनले कम्युनिस्ट सरकार संवैधानलाई टेकेर जनताका अधिकार खोस्न लागेको बताए । उनले संसदमा पेश भएका सबै विधेयकहरू संविधानले दिएको अधिकार विपरितका रहेको बताए । उनले त्यसका लागि पनि कांग्रेस निकटका व्यवसायीहरूले सहमतिबाट कार्यसमिति बनाएर एकताको सन्देश दिनुपर्ने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सरकारले वैदेशिक रोजगार व्यवसायीहरूलाई सधै गलत नजरले हेरेको बताए । उनले मुलुकको ४० प्रतिशत अर्थतन्त्र धानेको वैदेशिक रोजगार व्यवसायीहरूलाई सम्मान गर्नुपर्ने बताए ।

नेता लेखकले कम्युनिस्ट शासन व्यवस्था ल्याउन वर्तमान कम्युनिस्ट सरकार लागेको बताए । यस्तो अवस्थामा कांग्रेस निकटका वैदेशक रोजगार व्यवसायीहरूले सर्वसम्मत कार्यसमिति बनाएर एकताको सन्देश दिन आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् वैदेशिक रोजगार व्यवसायीहरू किरण किशोर घिमिरे, विमल ढकाल, प्रज्ञान न्यौपाने, नेपाल तरुण दलका पूर्व कार्यबाहक अध्यक्ष एमव नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनालगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Friday, 2020 February 7, 4:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया