कम्युनिस्टले आफ्नालाई जोगायो, अरुलाई फसायोः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दालाई पूर्वाग्रहपूर्ण र राजनैतिक वदनियतले प्रेरित ठहर गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार सानेपास्थित पार्टी मुख्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता र कार्यकर्तामाथि झुठ्ठा मुद्दा लगाउने र हतोत्साहित गर्ने श्रृङ्खलाका रुपमा लिएको बताए ।

‘विजयकुमार गच्छदारपछि परेको थारु समुदायबाट उदाएर पञ्चायतकालीन जेल र प्रवास भोग्दै ०४८ सालदेखि निरन्तर रुपमा जनताबाट निर्वाचित नेता पनि
हुनुहुन्छ’, शर्माले भनेका छन् ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अधिकार सम्पन्न गराउने गरी भ्रष्टाचार निवारण ऐन, ०५९ नेपाली कांग्रेसको नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरी पारित गरिरहँदा उहाँ त्यो मन्त्रिमण्डलको सदस्यका रुपमा पनि महत्वपूर्ण भूमिकामा हुनुहुन्थ्यो’, उनले भनेका छन्, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गलत ढंगले प्रभावित गरी राजनैतिक पूर्वाग्रहका साथ माघ २२ मा उहाँमाथि मुद्दा दायर गरिएको नेपाली कांग्रेसको ठहर छ ।’

‘प्रधानमन्त्रीय प्रणालीमा मन्त्रिपरिषद्बाट भएको कुनै पनि निर्णयको पूर्ण जिम्मेवारी प्रधानमन्त्रीको हुन्छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको सहमति वेगर न मन्त्रिपरिषद्मा कुनै प्रस्ताव आउन सक्छ न कुनै प्रस्ताव पारित हुन सक्छ भन्ने तथ्य निर्विवाद छ ।’

‘नेपाल सरकार मन्त्रिपरिषदले गरेको निर्णयमा प्रधानमन्त्रीद्वय माधव नेपाल र वावुराम भट्टराईलाई उन्मुक्ति दिने र कुनै मन्त्रिमाथि त्यही निर्णयमा आधारित रहेर मुद्दा चलाउने कुरा आफैंमा वदनियतपूर्ण रहेको प्रष्ट छ’, विज्ञप्तिमा भनिएको छ ।

‘नेकपाका वर्तमान महासचिव विष्णु पौडेलले आफ्ना छोरा नवीन पौडेलका नाममा जग्गा लिएको तथ्य सिंगो देशलाई जानकारी छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘सोही प्रकृतिमा अरुलाई मुद्दा चलाइनु तर पौडेललाई मुद्दा नचलाइनुले राज्य शक्तिको प्रभावमा निर्णय भएको प्रष्ट हुन्छ ।’

‘बालुवाटार जग्गा प्रकरणको गहिरो छानविनका लागि नेपाली कांग्रेससँगै सिंगो राष्ट्रले माग गर्दै आएको हो’, नेपाली कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस यो लगायतका अन्य सबै अनियमितता, अख्तियार दुरुपयोग र भ्रष्टाचारका प्रकरणहरूको गम्भीर र गहिरो अनुसन्धानका पक्षमा थियो र रहनेछ ।’

‘शुरुवात देखिनै सरकारको नियत आफ्नालाई जोगाउने, अरुलाई फसाउने देखियो’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारको त्यही नियतको प्रभाव र दवावमा अख्तियार पर्नु दुःखद छ ।’

पत्रकार सम्मेलन गर्नुभन्दा अगाडि बिहीबार बिहान पार्टी केन्द्रीय समितिका पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बैठक सभापति शेरबहादुर देउवाको निवासमा बसेको थियो ।

Published : Thursday, 2020 February 6, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया