तरुण दलले जारी गर्‍यो ठूला भ्रष्ट कम्युनिस्टहरूको सूची, अख्तियारभित्र खैलाबैला

काठमाडौं । नेपाल तरुण दलले सत्तारुढ दलका वरिष्ठ नेता माधवकुमार नेपाल, तत्कालीन मुख्य सचिव लीलामणि पौडेल, नेकपाका महासचिव विष्णु पौडेल, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई उन्मुक्ति दिएर नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई मुद्धा चलाएको भन्दै भर्त्सना गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बिहीबार विज्ञप्ति जारी गरेर कम्युनिस्ट सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक पूर्वाग्रही भएर विजयकुमार गच्छदारलाई मात्रै भ्रष्टाचारको मुद्धा लगाएको भन्दै त्रुटीपूर्ण निर्णय तत्काल सच्याउन माग गरेका छन् ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको १३६ रोपनी सरकारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोध राखी बद्नियतपूर्वक ढंगले लगाइएको भ्रष्टाचारको आरोपप्रति नेपाल तरुण दलको गम्भीर ध्यान आकृष्ट भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘तत्कालीन सरकारका प्रमुखहरू नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई र तत्कालीन सरकारका मुख्य सचिव लीलामणि पौडेललाई कम्युनिस्टको छाहारीभित्र राखी नेपाली कांग्रेस भएकै कारण असन्बन्धित मन्त्रालया तत्कालीन मन्त्री विजयकुमार गच्छदारलाई कम्युनिस्ट अधिनायकवाद उन्मुख दुर्गन्धित ओली सरकारको निर्देशन र योजनामा अख्तियारले लगाएको आरोप खेदपूर्ण छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘कम्युनिस्ट र उसका भ्रष्ट मतियारहरू नेकपाका महासचिव विष्णु पौडेल लगायतलाई उन्मुक्ति र संरक्षण गरी राजनीतिक पूर्वाग्रह र व्यक्तिगत रिसइवी राखी अख्तियारले गरेको दुषित निर्णय तुरुन्त सच्याउन र उक्त प्रकरणमा सरकारको नेतृत्व गरेको नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई, मुख्य सचिव लीलामणि पौडेल, नेकपाका महासचिव विष्णु पौडेल लगायतलाई कानूनको कठघारामा उभ्याउन जोडदार माग गर्दछौं’, नेपाल तरुण दलका अध्यक्ष बस्नेतले भनेका छन् ।

यसैवीच, नेपाल तरुण दलले माघ २६ गते आइतबार काठमाडौंसहित देशभरि आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार काठमाडौंको माइतीघर मण्डलामा तरुण दलले बिहान ११ बजे प्रदर्शन गर्नेछ ।

आइतबार देशभरिका तरुणहरूलाई सबै जिल्लाहरूमा कम्युनिस्ट सरकार र अख्तियारविरुद्ध प्रदर्शन गर्न भनेको छ ।

Published : Thursday, 2020 February 6, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया