सानेपामा कांग्रेस र भ्रातृ संस्थाहरूको आकस्मिक बैठक, शुक्रबारदेखि आन्दोलनको घोषणा

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना भ्रातृ संस्थाहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको राजनीतिक पूर्वाग्रहपूर्ण हर्कतका विरुद्ध सशक्त आन्दोलन गर्न निर्देशन दिएको छ ।

नेपाली कांग्रेसका उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, सहमहामन्त्री डा.प्रकाश शरण महत, प्रमुख सचेतक बालकृष्ण खाँणलगायतका नेताहरूले भ्रातृ संस्थाका प्रमुख र पदाधिकारीहरूसँग छलफल गरेका हुन् ।

उनीहरूले कम्युनिस्ट नेताहरूलाई बचाएर कांग्रेसका नेतालाई फसाउन र बद्नाम गर्न मुद्धा लगाएको भन्दै आक्रोश पोखेका छन् ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहीबार भएको छलफलमा कम्युनिस्ट सरकारको लाचार छायाँ बनेको अख्तियारले राजनीतिक पूर्वाग्रही भएर उपसभापति एवम् संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध बालुवाटार जग्गा प्रकरणमा मुद्धा दर्ता गराएको ठहर नेपाली कांग्रेसले निकालेको छ ।

कम्यनिस्ट सरकारको मतियार बनेको अख्तियारको हर्कतका विरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलले काठमाडौंसहित देशभरि आन्दोलन गर्ने निर्णय भएको नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए ।

‘राजनीतिक पूर्वाग्रही भएर विजयकुमार गच्छदारलाई मात्रै मुद्धा चलाउने तर, प्रधानमन्त्री माधवकुमार नेपाल र जग्गा आफ्नो नाममा बनाउने नेकपाका महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिने कार्य कदापि सैह्य छैन’, उनले भने, ‘अख्तियारको दुराशयपूर्ण निर्णयका विरुद्ध सडक आन्दोलन गर्ने निर्णय भएको छ ।

नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले कम्युनिस्ट सरकार अलोकप्रिय बन्दै गएका बेला नेपाली कांग्रेसका नेताहरूलाई विभिन्न बहानामा राजनीतिक पूर्वाग्रही भएर मुद्धा लगाएर बद्नाम गर्ने षड्यन्त्रमा लागेको बताए । उनले यस्ता हर्कतका विरुद्ध नेपाल तरुण दल एक भएर देशभरि आन्दोलन चर्काउने बताए ।

सानेपामा बिहीबारको निर्णयअनुसार माघ २४ गते शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा दिउँसो १ बजे नेपाल विद्यार्थी संघ (नेविसंघ)को नेतृत्वमा अख्तियारको बद्नियतपूर्ण निर्णयका विरुद्ध सशक्त प्रदर्शन गर्ने निर्णय भएको छ । नेविसंघको अगुगाइमा हुने शुक्रबारको प्रदर्शनमा सबै भ्रातृ संस्थाहरूको सहभागिता रहनेछ ।

नेपाल तरुण दलले माघ २६ गते आइतबार काठमाडौंसहित देशभरि अख्तियारको राजनीतिक पूर्वाग्रही निर्णयविरुद्ध प्रदर्शन हुनेछ । तरुण दलले काठमाडौंमा आइतबार बिहान ११ बजे माइतीघर मण्डलामा प्रदर्शनको कार्यक्रम राखेको छ ।

नेपाल तरुण दलले आइतबारका दिन देशभरि ७७ वटै जिल्लामा कम्युनिस्ट सरकार अख्तियारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरिएको अध्यक्ष बस्नेतले बताए ।

Published : Thursday, 2020 February 6, 6:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया