नेकपामा हिराे बने प्रचण्ड, ओलीका दुई ठूला कुरा फेल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबैभन्दा धेरै खुसी भएका छन् । आफू निकटका नेताहरूसँग बैठकबाट पूर्वमाओवादीहरूलाई फाइदा भएको दाहालले बताएका छन् । उनले बैठकको अध्यक्षतादेखि राजनीतिक प्रतिवेदन पेश गर्न पाएकोमा आफ्नो ठूलो जीत भएको ब्याख्या गर्न थालेका छन् ।

बैठकमा ओलीको झिनो उपस्थिति र ओलीविरोधी समूहले दाहाललाई नै साथ दिएको जस्ता व्याख्या पूर्वमाओवादीबाट हुन थालेको छ । हुन पनि ओली उद्घाटन सत्रपछि एक पटकमात्र समापन सत्रमा आएका थिए । बीचको समयमा ओली देखा परेनन् ।

केन्द्रीय कमिटीमा ओली बहुमतमा छन् । ओलीको अनुपस्थितिमा उनी निकटका नेताहरूले बैठकमा कमाल देखाउन सकेनन् । सूर्य थापाले मात्रै ओलीको बिडो थाम्ने प्रयास गरे । तर, पूर्वमाओवादी नेताहरूको आलोचनापछि सूर्य थापाले फेसबुकमा स्टाटस लेखेर बचाउ गर्न बाध्य भए ।

महासचिव विष्णु पौडेलले पनि ओलीलाई फाइदा हुने गरेर कुनै पनि बचाउ गरिदिएनन् । महासचिव पौडेलले चाहेको भए ओलीले केन्द्रीय कमिटीबाट खोजेका दुई वटा निर्णय हुन सक्ने थियो । चाहेर पनि पौडेलले त्यसो गरेनन् । आफ्नो व्यक्तिगत स्वार्थ हेरेका पौडेलले दाहाललाई चिढ्याउन चाहँदैनन् । दाहाल महासचिव पौडेलसँग खुसी छन् भने ओली झस्किएका छन् ।

ओलीले केन्द्रीय कमिटीबाट अमेरिकन मिलेनियम च्यालेञ्ज करपोरेशन (एमसीसी) सहयोगका पक्षमा निर्णय होस् भन्ने चाहेका थिए । तर, ओलीलाई एमसीसीमा कमजोर बनाएर गलाउन अध्यक्ष दाहाल, महासचिव पौडेलसहितका नेताहरूले यसैलाई हतियार बनाए । यो कुरा ओलीले बुझेका छन् ।

सोही डिजाइनमा एमसीसीका विषयमा विरोधमा उत्रिएका र पछिल्लो समय नरम हुँदै आएका वरिष्ठ नेता झलनाथ खनाललाई एमसीसीका विषयमा अध्ययन गर्ने समितिको संयोजक बनाइयो । सदस्यमा भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई राखियो । यी तीनै जना पूर्वएमाले हुन् । यसमा पूर्वमाओवादीहरू बस्न चाहेनन् । पूर्वमाओवादीहरू एमसीसी नआओस् भन्ने पक्षमा छन् ।

खनाल समितिले एमसीसी ल्याउन वा नल्याउन जे निर्णय गरे पनि अब त्यसको कुनै अर्थ रहनेवाला छैन । पूर्वमाओवादीहरू आफ्नो उद्देश्यमा सफल भएका छन् । उनीहरूले एमसीसीको दोष र अपजस पूर्वएमालेको घाँटीमा झुण्ड्याइदिएका छन् । यो रणनीतिमा अध्यक्ष दाहाल सफल भएका छन् । अर्को कुरा केन्द्रीय कमिटीले सरकारको प्रशंसा गरोस् भन्ने चाहना ओलीको थियो ।

ओलीको त्यो इच्छा पनि अध्यक्ष दाहालले पूरा हुन दिएनन् । पूर्वसेटिङ गरेर आएका दाहालले आफू निकटका नेताहरूमार्फत सरकारको आलोचना गराइदिए । जसका कारण ओलीको सपना भताभुङ्ग भयो । ओलीले चाहेको दुई वटा इच्छा केन्द्रीय कमिटीबाट कार्यान्वयन नभएपछि बालुवाटारमा आफू निकटका नेताहरूलाई बोलाएर दाहाल र पूर्वमाओवादीहरूसँग उनले आक्रोश पोख्न थालेका छन् ।

पूर्वमाओवादी निकटका सञ्चारमाध्यममा ओलीलाई ‘डाउन’ गराएर समाचारहरू लेख्न लगाइएको छ । अध्यक्ष दाहालको फेसबुक पेजमा केन्द्रीय कमिटीको कमाण्डिङ गर्ने हिरो भनेर लेखिएका समाचारहरू शेयर गरिएका छन् । ती समाचारले पूर्वमाओवादीको जित र पूर्वएमालेहरूको हारका रुपमा चित्रित गरिएको छ । केन्द्रीय कमिटीले ओलीलाई फाइदाभन्दा पनि बेफाइदा र दाहाललाई नाफा बनाइदिएको छ । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)

Published : Thursday, 2020 February 6, 8:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया