‘शक्तिशाली’ हिमालयन बैंकका अध्यक्ष राष्ट्र बैंकको फन्दामा

काठमाडौं । अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिइओ)बीच लामो समयदेखि लफडा चल्दै आएको हिमालयन बैंकलाई नेपाल राष्ट्र बैंकले चुनावी प्रक्रियाबाट सञ्चालक समिति चयन गर्न निर्देशन दिएसँगै अध्यक्ष मनोजबहादुर श्रेष्ठको चुरीफुरी कमजोर भएको छ ।

राष्ट्र बैंकको निर्देशनसँगै एक सञ्चालकको पद गुमेर हिमालयन बैंकमा खेतान समूहको म्युचुअल ट्रेडिङ्गबाट प्रतिनिधित्व गर्ने सञ्चालक भित्रने सम्भावना बढेको हो ।

राष्ट्र बैंकको निर्देशनसँगै बैंकमा २२ वर्षपछि पहिलो पटक निर्वाचनबाट सञ्चालक चुनिने संभावना देखिएको छ । बैंकले गत आवको लाभांश घोषणा गरेपनि साधारण सभा गरेको छैन ।

निर्वाचनबाट सञ्चालक समिति चयन भएको खण्डमा सञ्चालक रहेका मनोजबहादुर श्रेष्ठ र प्रचण्डबहादुर श्रेष्ठमध्ये एकले पद गुमाउनुपर्ने हुन्छ । सो स्थानमा खेतान समूहको प्रवेश बलियो सम्भावनाको रुपमा देखिएको छ ।

अहिले बैंकमा श्रेष्ठ समूहबाट २ जना, पाकिस्ताको हबिब, सञ्चयकोष, राणा र विज्ञ बाट एक÷एकजना गरी ७ जना सञ्चालक छन् । खेतान समूहभन्दा कम स्वामित्व भएका प्रचण्डबहादुर श्रेष्ठ पनि सञ्चालक छन् ।

बैंकभित्र श्रेष्ठ दाजुभाईले भवन निर्माणदेखि सफ्टवेयर खरिदसम्म करोडौं रकम हिनामिना गर्दै आएको भन्दै सिइओ राणाले नै विरोध गर्ने गरेका छन् । बैंकमा राणा नाम मात्रैका सिइओ हुन् । सबै काम अध्यक्ष श्रेष्ठले नै गर्दै आएका छन् । अध्यक्ष श्रेष्ठका नातेदाहरु नै बैंकका प्रमुख पदमा कार्यरत छन् ।

अध्यक्ष श्रेष्ठको गलत धन्दाको बारेमा राष्ट्र बैंकमा बारम्बार उजुरी परेपनि श्रेष्ठको पहुँचका कारण राष्ट्र बैंकले अहिलेसम्म हिमालयन बैंकमाथि कुनै कारबाही गर्न सकेको छैन ।

त्यसो त बैंकले मनोजबहादुरकै आफन्त सञ्चालक रहेको लियोन मोटर्समार्फत पटक–पटक गाडी खरिद गर्दै आएको पाइएको छ । बैंकले केही वर्ष अघि सोही कम्पनीबाट मित्सुविसी आउल्याण्डर र मित्सुविसी एएसएक्स गाडी हिमालयनको विदेशी संस्थापक हबिब बैंकका प्रतिनिधि(कर्मचारी) एजाज गिलका लागि समेत खरिद गरेको थियो ।

लामो समयदेखि विक्री नभएर बसेको पुरानो उक्त एएसएक्स गाडीलाई नयाँ सोरुम मूल्यमा किनिएको खुलेको छ । यसरी अध्यक्ष श्रेष्ठले सार्वजनिक खरिद प्रक्रियाको अवलम्वन नगरी बोर्डबाट मनपरी निर्णय गरेर अधिकारको दुरुपयोग गरेको समेत भेटिएको छ ।

सबैभन्दा अचम्म त के छ भने लियोनले विना धितो अध्यक्ष श्रेष्ठमार्फत हिमालयन बैंक लिमिटेड, ठमेल शाखाबाट आयात क्रण समेत लिन सफल भएको छ ।

उक्त क्रण दिलाउन अध्यक्षका नातेदार रहेका ठमेल शाखा प्रबन्धक सुनिल गोर्खालीले भूमिका खेलेका थिए । यसरी गैरकानुनी रुपमा ऋण दिलाउने उनै गोर्खालीलाई दण्डित गर्नुको सट्टा अध्यक्ष श्रेष्ठले पुरस्कृत गरेको समेत भेटिएको छ ।

बैंकमा श्रेष्ठको मनपरी र भ्रष्टाचार बढेपछि २० प्रतिशत शेयर स्वामित्व रहेको पाकिस्तानको हबिब बैंक बाहिरिन खोजेको छ । बैंकमा संस्थापकमध्येबाट सञ्चालकहरू सलिम अम्लारी (हबिव बैंक), सुशील विक्रम थापा (आभा इन्टरनेसनल) र प्रचण्डबहादुर श्रेष्ठ (छायाँ इन्टरनेसनल) ले प्रतिनिधित्व गरिरहेका छन् ।

मनोजबहादुर श्रेष्ठ (एन ट्रेडिङ) सञ्चालक समितिको अध्यक्ष छन् । एन ट्रेडिङ र छायाँ इन्टरनेसनल नरसिंहबहादुर श्रेष्ठको परिवारको हो । बैंकमा एन ट्रेडिङको १२.७१ प्रतिशत र छायाँ इन्टरनेसनलको ८.८९ प्रतिशत सेयर छ । आभा इन्टरनेसनल हिमालयशमशेर राणाको हो, जसको ११.३८ प्रतिशत सेयर छ ।

बैंकमा ११.८५ प्रतिशत सेयर रहेको खेतान समूहको म्युचुअल ट्रेडिङलाई प्रतिनिधित्व नगराइएपछि विवाद चर्किएको थियो । बैंकमा पाकिस्तानको हबिव बैंकको २० प्रतिशत र कर्मचारी सञ्चय कोषको १४ प्रतिशत सेयर छ । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)

Published : Thursday, 2019 December 26, 10:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया