काठमाडौंको मुटुमा नेविसंघको भव्य भेला, सयौँ विद्यार्थी सहभागी

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले क्याम्पसका आफ्नै गुरुहरूलाई अभद्र व्यवहार गर्ने र कुटपिट गर्ने कार्यको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।

काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शुक्रबार आयोजना गरेको भेलाले क्याम्पस प्रमुखलाई कुटपिट गर्नेहरूलाई उन्मुक्ति दिन नहुने ठहर गरेको हो । नेविसंघले आगामी दिनमा यस्ता हर्कत हुन नदिन शान्ति सुरक्षाको माग गरेको छ ।

केही दिन अगाडि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको अनेरास्ववियुका ईकाइ अध्यक्ष गोविन्द थपलियाले क्याम्पस प्रमुख प्रा.डा.प्रदीपबहादुर न्यौपानेलाई कुटपिट गरेका थिए ।

नेविसंघको शुक्रबारको भेलामा क्याम्पस प्रशासनले वृद्धि गरेको शुल्कको विरोध गरेको छ । नेविसंघले वृद्धि भएको शुल्क फिर्ता गर्न माग गरेको छ ।

भेलाका सहभागीहरूले नेपाली कांग्रेस कमजोर हुँदा देशमा संविधानले दिएका नागरिकका अधिकारहरू कुण्ठित हुँदै गएको भन्दै नेविसंघले संगठन सुदृढीकरणमा जोड दिएको छ । नेविसंघमा नयाँ नेतृत्व आउनेवित्तिकै संगठन बनाउन कांग्रेस नेतृत्वलाई सुझाव दिएको छ ।

भेलामा नेविसंघका नेताहरू प्रचण्ड न्यौपाने ‘गुण्टु’, दीपक भट्टराईलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2019 November 30, 10:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया