कांग्रेसका पौडेलले दिए प्रचण्डलाई शालिन जवाफ, अब जितेर संसदमै भेट्ने

पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई चुनावी मैदान छोडेर देवघाट जान दिएको सुझावको नेपाली कांग्रेसका नेता एवं कास्की क्षेत्र नम्बर २ का उम्मेदवार खेमराज पौडेलले कडा जवाफ दिएका छन् ।

बुधबार पोखरामा नेकपाको चुनावी सभामा आएका दाहालले ७७ वर्षको उमेरमा देवघाट गएर ध्यान र ज्ञान सिक्ने अवस्थामा चुनावमा आएको भनि विचरा शब्द प्रयोग गरेपछि आफ्नो ट्वीटर र फेसबुकमार्फत कांग्रेस उम्मेदवार पौडेलले दाहाललाई जवाफ फर्काएका हुन् ।

‘आदरणीय नेकपाका अध्यक्ष प्रचण्डज्यू, देवघाट होइन, मंसिर १४ गतेपछि तपाईको र मेरो भेट संसद भवनमा हुन्छ’, उनले भनेका छन्, ‘त्यसपछि देवघाट जान परे सँगै जाउँला । जय नेपाल ।’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष दाहालले कास्की क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार पौडेलको उमेरको विषयलाई लिएर दिएको अभिव्यक्तिको जेष्ठ नागरिकहरूको घोर अपमान गरेको भनेका छन् ।

पोखराको नयाँ बजारमा बुधबार आयोजित नेकपाको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले कास्की कांग्रेसका पुराना र त्यागी नेता पौडेललाई देवघाटतिर गएर ध्यान र ज्ञान सिक्नु पर्ने बेलामा चुनावी मैदानमा आएको भन्दै अत्यन्त निम्नस्तरको अभिव्यक्ति दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाप्रति आक्रामक शैलीमा प्रस्तुत भएका दाहालले बोल्ने क्रममा भने, ‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ विदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ वर्षको बुढालाई, जो अब देवघाटतिर जानपर्ने मान्छेलाई, त्यहाँ गएर ध्यान र ज्ञान सिक्नु पर्ने मान्छेलाई अघि सार्र्ने अनि ६५ वर्षको जवानलाई रेष्ट गर्नु पर्छ भन्ने मिल्छ त ?’

मृगौला प्रत्यारोपण गरी निरन्तर अस्पताल धाएर हेमाडायलाइसिस गरिरहेका विरामी प्रधानमन्त्रीलाई दाहालले ‘६५ वर्षको जवान’को संज्ञा दिएर व्यंग्यात्मक शैलीमा भने, ‘यो कतै मिल्ने कुरा होइन ।’

दाहालले कांग्रेस सभापति देउवाले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतले प्रधानमन्त्री केपी ओलीकै सहमतिमा आफ्नो नक्सामा पारेको भन्ने चर्चाबारे देउवाले दिउँसै रातपार्ने करा गरेको प्रतिक्रिया दिए ।

गिरिजाप्रसाद कोइरालाले देश आफूलाई जिम्मा लगाएको दाबी गर्ने दाहालले कांग्रेस सभापति देउवाले उटपट्याङ कुरा गरेको देख्दा टिठ लागेको बताए ।

देउवाको अभिव्यक्तिले नेकपा उम्मेदवार विद्या भट्टराइको जित सुनिश्चित भएको भन्दै उनले देउवालाई ‘उल्लु’ कुरा नगर्न सुझाव दिएको बताए ।

उनले आफ्नो दलको उम्मेदवार भट्टराईलाई पहिलेको भन्दा भारी मत अन्तरले विजयी गराउँन निर्देशन दिँदै उनले आफ्नो पार्टी्भित्र प्रधानमन्त्री ओली र आफूबीच भएको पद बाँडफाँटको सहमति पश्चात राजनीतिक अन्यौलता नरहेको दाबी पनि गरे ।

भूमिगत राजनीतिको नाममा लुकिछिपी आक्रमण र षडयन्त्रको राजनीतिक भर्‍याङ चढेर कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको साहारामा राष्ट्रिय राजनीतिमा स्थापित भएका दाहालले आफू खुलम खुला कुरामा विश्वास गर्ने विचार पनि व्यक्त गरेका छन् ।

‘जनताको मत त आजसम्म व्यक्त भइसक्यो। अब राती लुकिछिपी हुने षडयन्त्र त्यस्ता प्रतिक्रियावादीहरुको लुकिछिपी षडयन्त्रमा विश्वास हुन्छ’, दाहालले भने, ‘हामीलाई खुलमखुला कुरा गर्नेमा विश्वास हुन्छ त्यी लुकिछिपी हुने षडयन्त्रहरुलाई रोक्न लाग्नु होला ।’

Published : Thursday, 2019 November 28, 1:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया