दाङमा कांग्रेस लोकप्रिय भएपछि आत्तिए अरिँगालहरू, कम्युनिस्ट वडाध्यक्षले देखाए औकात

तुलसिपुर । दाङ जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वडाध्यक्षले मदिराको नसामा लठ परेर नेपाली कांग्रेसका कार्यकर्तालाई कुटपिट गरेका छन् ।

तत्कालीन एमालेबाट निर्वाचित बबई गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर डाँगीले नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता गणेश देबकोटा र सुरेश खड्कालाई मंगलबार बेलुका मदिरा सेबन गरी कुटपिट गरेका हुन् ।

वडाध्यक्षको अराजक हर्कतको नेपाली कांग्रेसका स्थानीय नेताहरूले घटनाको विरोध गर्दै कारबाहीको माग गरेका थिए ।

त्यसपछि नेपाली कांग्रेस र नेकपाका स्थानीय नेताहरूसहित ईलाका प्रहरी कार्यालय पञ्चकुलेमा भएको छलफलका क्रममा वडाध्यक्ष डाँगीले बुधबार बिहान पीडितहरू सार्वजनिक रुपमा माफी मागेका छन् । उनले अब यस्ता हर्कत नदोहोराउने प्रतिवद्धता जनाएका छन् ।

वडाध्यक्ष जस्तो जिम्मेवार पदमा बसेर रक्सीको नसामा लठ परेर आफ्नै गाउँपालिकाभित्रका स्थानीयलाई कुटपिट गरेपछि आलोचना भएको थियो ।

मदिरा सेवन गरेकाले गल्ती भएको भन्दै वडाध्यक्ष डाँगीले माफी माग्दै अबदेखि यस्ता गल्ती नदोहो¥याउने सहमति भएको नेपाली कांग्रेस दाङका जिल्ला सदस्य ताराबहादुर कार्कीले जानकारी दिए ।

दुई दिन अगाडि पनि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० गौरीगाउँमा नेकपाका कार्यकर्ताले बियरका बोत्तल र रडले आक्रमण गर्दा तुलसीपुर ११ हस्नापुर निवासी नेविसंघका कार्यकर्ता कृष्ण बस्नेत घाइते भएका छन् । घाइते बस्नेतलाई प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचारपछि नेपालगञ्ज पठाइएको छ ।

टाउकोमा बियरको बोत्तलका सिसा रहेको आशंकामा बस्नेतलाई सीटीस्क्यान गर्न नेपालगञ्ज उपचार गर्न पठाइएको चिकित्सकहरूले बताएका छन् ।

बस्नेतलाई कुटपिट गर्ने नेकपाका कार्यकर्ताहरूलाई कारबाही गर्न नेपाली कांग्रेस दाङले माग गरेको छ ।

मंसिर १४ गतेको निर्वाचनलाई प्रभावित पार्न नेकपाका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तामाथि श्रीङ्खलावद्ध आक्रमणमा उत्रिएको नेपाली कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले बताए ।

उनले नेकपाका अरिँगालहरूलाई सहि ठाउँमा राख्न प्रहरी प्रशासनलाई चेतावनी दिएका छन् । उनले यस्ता घटनाहरू दोहोरिन थाल्यो भने नेपाली कांग्रेस चुप लागेर नबस्ने शान्तिपूर्ण रुपमा अरिँगालहरूलाई सबक सिकाउने चेतावनी दिएका छन् ।

दाङ क्षेत्र नम्बर ३ ‘ख’मा नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्य प्रदेश निर्वाचनमा बलियो हुँदै गएपछि आतंकित बनेका नेकपाका अरिँगालहरू सांघातिक आक्रमणमा उत्रिएको दाङ कांग्रेसले जनाएको छ ।

Published : Wednesday, 2019 November 27, 11:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया