कम्युनिस्ट सरकारले भारतको विरोध गर्न दिएन, दार्चुलामा ६ जना पक्राउ

प्रकाशचन्द्र भट्ट

दार्चुला । नेपाली भूमिलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेको भन्दै विरोधमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६ जना कार्यकर्ता दार्चुलाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डडेलधुराको भागेश्वर गाउँपालिका ६ का २२ वर्षीय ललित सार्की, परशुुराम नगरपालिका ५ का २३ वर्षीय गणेश बोहरा, बझाङको बुंगल गाउँपालिका–४ का २९ वर्षीय तिलक कुँवर तथा खप्तड छान्ना गाउँपालिका ८ का २५ वर्षीय सुभाष जोशी छन् ।

दार्चुलाको मार्मा गाउँपालिका ४ का १९ वर्षीय धनसिंह धामी र बाजुराको बुढीगंगा नगरपालिका १० का २१ वर्षीय दीपक रावत रहेका छन् ।

उनीहरूलाई मंगलबार बिहान विषेश सूचनाका आधारमा सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

बिहान ९ बजे खुलामञ्चमा कार्यक्रम गर्ने तयारी भइरहेको सूचनाका आधारमा उनीहरूलाई महेन्द्र मावि खलंगाको गेट, बसपार्क र राति बसेको होटलबाट पक्राउ गरिएको सूचना अधिकारी जोशीले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट रातो झण्डा, पर्चा र सहयोग रसिद बरामद गरिएको जनाएको छ ।

‘भारतीय बिस्तारवाद मुर्दावाद, आइ लभ नेपाल’, नरेन्द्र मोदी मुर्दावाद, कालापानी हाम्रो हो’, लगायत लेखेका पर्चा फेला पारेको जोशीले बताए ।

Published : Tuesday, 2019 November 26, 6:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया