पहिला मिलेर देश बनाऔँ, त्यसपछि अधिकार मागौँः अध्यक्ष अन्सारी

अमेरिका । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पहिला देशभन्दा ठूलो केही नहुने भन्दै देशका लागि केही गर्नुपर्ने बताएका छन् ।

अमेरिकामा रहेको तराईका नेपालीहरूको संस्था एन्टीएको ५औँ सम्मेलनलाई आइतबार सम्बोधन गर्ने क्रममा अध्यक्ष अन्सारीले देशपछि मात्रै प्रदेश र भूगोलको कुरा आउने बताए ।

‘हामी सबै मिलेर पहिला देश बनाऔँ’, उनले भने, ‘त्यसपछि मात्रै प्रदेश बनाउने हो । अनि भूगोल बनाउने हो । यसरी राष्ट्र र राष्ट्रियता अनि जनताको विकास हुन्छ ।’

देश विदेशमा रहेका नेपालीहरूले पनि पहिला देशको विकासमा ध्यान दिनुपर्ने अन्सारीले आग्रह गरे । ‘नेपाल भ्रमण वर्ष शुरु हुन लागेको छ । देशको विकास गर्नु छ भने भ्रमण वर्षलाई विशेष जोड दिनुपर्छ’, उनले भने, ‘अमेरिकामा बसोबास गर्ने सबै नेपालीहरूले पर्यटन वर्षलाई विशेष रुपमा सहयोग गर्नुपर्छ ।’

कार्यक्रममा रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको विकासका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको बताएका थिए ।

सधैँ केन्द्र सरकारको आलोचना गर्दै आएका मुख्यमन्त्री राउतले सो कार्यक्रममा केन्द्र र प्रदेश सरकार मिलेर काम गर्नेभन्दै केन्द्र सरकारको बचाउ गरेका थिए ।

कार्यक्रममा प्रदेश २ का न्यायाधिवक्ता दीपेन्द्र झाको पनि उपस्थिति रहेको थियो ।

एन्टीयाको ५औँ अधिवेशनले अपराजिता झाको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यकारी समिति चयन गरेको छ ।

नयाँ पदाधिकारीहरूमा ईन्द्रदेव साह (वरिष्ठ उपाध्यक्ष), धिरज चौधरी (महासचिव), अनिल द्विवेदी (उपउपाध्यक्ष, अन्तर्राष्ट्रिय), रणधीर शर्मा (उपध्यक्ष, राष्ट्रिय), मुकेश कर्ण (कोषाध्यक्ष) र मोहनकुमार यादव (प्रवक्ता) रहेका छन् ।

बिन्देश्वर साहलाई सहसचिव र सन्तोष साहलाई सहकोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।

कार्यकारी सदस्यहरूमा मनीष सिंह, सुनैना चौधरी, कुशेश्वर मण्डल, कृष्णनन्दन ठाकुर र प्रभात झालाई मनोनयन गरिएको छ ।

झा र सुबोध मल्लिकको नेतृत्वमा दुई समूहबीच प्रतिस्पर्धा भएको थियो ।

चुनावका लागि अनलाइन मतदान नोभेम्बर १२ देखि नोभेम्बर १५ सम्म भएको थियो ।

नवनिर्वाचित कार्यकारी समिति आइतवार एन्टीयको ५औं अधिवेशनको अवसरमा घोषणा गरिएको थियो ।

यो सम्मेलन अमेरिकाको आयोवा राज्यको प्रान्तीय राजधानी डेस मोइन्समा आयोजना गरिएको थियो ।

Published : Tuesday, 2019 November 19, 12:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया