शाहीको समूहभित्रै भाँडभैलो, बाँस्कोटाद्वारा विद्रोह

काठमाडौं । नेपाल तरुण दलबाट कारबाहीमा परेर निस्कासित भएका भुपेन्द्रजंग शाहीले बनाएको निर्वाचन परिचालन समितिभित्र भाँडभैलो भएको छ ।

शाहीले आफ्नो संयोजकत्वमा बनाएको निर्वाचन परिचालन समितिकी सदस्य अम्बिका बाँस्कोटाले आपत्त जनाएकी छिन् । शाहीले बाँस्कोटासँग सल्लाह नै नगरी एकतर्फी रुपमा समितिमा राखेपछि उनले आपत्ति जनाएकी हुन् ।

‘राजनीतिमा ईमानदारिता हुँदैन तर, बफदार पक्कै हुन्छ’, बाँकस्कोटाले फेसबुकमा लेखेकी छिन्, ‘मलाई केन्द्रीयस्तरमा पुग्नलाई हतार छैन । व्यक्तिगत स्वार्थको लागि मेरो नाम दुरूपयोग नगर्दिनु हुन अनुरोध छ । म नेपाल तरुण दलको एक बफदार कार्यकर्ता हुँ । जय तरुण ।’ आफ्नो स्टाटससँगै बाँस्कोटाले शाहीको विज्ञप्तिलाई पनि राखेकी छिन् ।

शाहीसँग नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले समेत स्पष्टीकरण सोधिसकेको छ । शाहीलाई कारबाही मुक्त गर्ने वा पार्टीबाटै निस्काशन गर्ने भन्ने विषयमा समितिभित्र छलफल भइरहेको छ ।

नेपाली कांग्रेसले शुरु गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानलाई ‘नौटकी’ र ‘जागरण अभियानको औचित्य छैन’ भन्ने अभिव्यक्ति दिएपछि शाहीको आलोचना भएको थियो ।

त्यसपछि शाहीलाई स्पष्टीकरण सोधेर चित्त नबुझेपछि पार्टी नेतृत्वसँग परामर्श गरेर निष्काशित गरिएको थियो ।

Published : Sunday, 2019 November 17, 11:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया