कम्युनिस्टहरूकाे समृद्धि घरबेटीलाई मात्रै आयाेः रमेश लेखक

भक्तपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले कम्युनिस्ट सरकारेको समृद्ध नेपाल बनाउने नारा खोक्रो सावित भएको बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुरले शनिबार चाँगुनारायण नगरपालिका ५ छालिङमा गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता लेखकले कम्युनिस्ट सरकारको समृद्ध नेपाल र विकासको नारा खोक्रो हो–होइन भक्तपुर नगरकोट सडकको अवस्थाले नै पुष्टि गर्ने स्पष्ट पारेका हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटीतर्फ संकेत गर्दै नेपाली कांग्रेसका नेता लेखकले आफ्नो मान्छेलाई पोसाउने कार्य नै कम्युनिस्टहरूको समृद्धि रहेको बताए ।

‘तीन वर्षभित्र बनाउने भनिएको भक्तपुर नगरकोट सडक पाँच वर्ष पूरा नभएबाटै सरकारको समृद्ध नेपाल र विकासको नारा खोक्रो हो भन्ने पुष्टि हुन्छ’, उनले भने, ‘भक्तपुर आएपछि मैले कांग्रेस र कम्युनिस्टबीचको भिन्नतासमेत स्पष्ट रूपमा देखेँ ।’

नेता लेखकले कम्युनिस्ट सरकार असफल भएको, भ्रष्टाचारमा डुबेको दिनानुदिन जनतासामु उदाङ्गिँदै आएको बताए ।

भ्रष्टाचार, महँगी, बलात्कार र अधिनायकवादविरुद्ध मंसिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेसलाई मत दिन नेता लेखकले आह्वान गरेका छन् ।

उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले आफूले भक्तपुरलाई प्रदेश ३ को राजधानी बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आफू विजयी भए भक्तपुर नगरकोट सडक खण्ड छिटो निर्माण सम्पन्न गर्न जोड दिने र अहिले पनि जनदबाब दिइरहेको बताए ।

अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको कांग्रेस यसपटक पहिलो हुने दाउमा रहेको छ ।

Published : Sunday, 2019 November 17, 7:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया