कम्युनिस्ट सरकारले जनताको भावनाको कदर गर्न सकेनन्ः देउवा

पुनर्वास । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकार दिन प्रतिदिन जनताको नजरमा अलोकप्रिय बन्दै गएको बताएका छन् ।

कञ्चनपुरको पुनर्वासमा शनिबार कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले उपनिर्वाचनमा पार्टीका उम्मेदवारका पक्षमा जनमत निर्माण गर्न आग्रह गरे ।

‘केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारका काम र व्यवहार देखेर जनता आजित भइसकेका छन्’, उनले भने, ‘अब जनताले कम्युनिस्टको बिकल्प खोज्दै गरेकाले पार्टीका उम्मेदवारलाई जिताउन एक ढिक्का भएर अगाडि बढ्नुस् ।’

देउवाले भने, ‘नेकपाबाट जननिर्वाचित जनप्रतिनिधिहरू आचारसंहिता उलंघन गर्दै स्वयच्छाचारी ढंगले हिँडिरहेका छन् ।’

‘खोक्रा राष्ट्रवादका गफ बाहेक सरकारले केही दिन सकेन’, उनले भने ।

विकास निर्माणका कार्य र योजनाहरूमा चरम भ्रष्टाचारमा डुबिरहेको उनले बताए । यस्तो बेला जनताले कांग्रेसको साथ खोजी रहेको उनले बताएका छन् ।

सभापति देउवाले भने, ‘कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रको विकास निर्माणको थालनी नेपाली कांग्रेसले नै सुरु गरेको हो र अबको विकास कांग्रेसले नै गर्नेछ ।’

देउवाले कञ्चनपुर जिल्लाको दक्षिणी भागमा रहेको निर्वाचन क्षेत्र नम्बर १ का बेल्डाँडी, बेलौरी र पुनर्वासमा पार्टी कार्यकर्ता भेटघाट तथा सम्बोधन र निर्देशन दिएका छन् ।

‘कम्युनिस्ट सरकारको जनभावना विपरितका कामका बिरुद्ध अब कांग्रेसका कार्यकर्ता सशक्त भएर लाग्नुस्’, उनले भने, ‘सरकार दिनप्रतिदिन जनताको नजरमा अलोकप्रिय बन्दै गएको छ ।’

Published : Saturday, 2019 November 16, 10:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया