कांग्रेसले अर्को पटक ललितपुर कब्जा गर्छ, जति गर्छौ अहिले गरः मीनकृष्ण महर्जन

ललितपुर । नेपाली कांग्रेसका युवा नेता एवम् ललितपुर क्षेत्र नम्बर १ ‘ख’का तत्कालीन प्रदेश सभाका उम्मेदवार मीनकृष्ण महर्जनले आफ्नो क्षेत्र र जिल्लाको विकासका कार्यक्रमका लागि आवाज उठाउँदा केही तत्वहरूलाई सैह्य नभएको बताएका छन् ।

ललितपुरको चापागाउँमा शनिबार नेपाली कांग्रेसका स्थानीय युवाहरूसँगको भेटघाटमा महर्जनले विकासका लागि दवाव दिँदा आफूमाथि सत्तापक्ष र विरोधीहरूबाट आफूलाई प्रहार हुने गरेको बताएका हुन् ।

‘मेरो ध्यान ललितपुरको विकासमा केन्द्रित छ । बाटोहरू भत्किएर हिँड्नै नहने अवस्थामा पुगेका छन्’, उनले भने, ‘जनताको काम गर्छु भनेर जितेर गएका जनप्रतिनिधिहरूलाई दवाव सिर्जना गरेर विकासका कार्यक्रम गराउनु नै मेरो उदेश्य हो ।’

उनले नेकपाका जनप्रतिनिधिहरूलाई आफ्नो दायित्वबाट नभाग्न चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘मेरोविरुद्धमा समाचार लेखाउँदैमा र पिठ्यु पछाडि कुरा काट्दैमा मीनकृष्ण महर्जन भाग्ने मान्छे होइन । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र नेपाली कांग्रेसका लागि एक थोपा रगत रहेसम्म लडिरहन्छ ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरूले जितेर गएपछि ललितपुरको विकासमा सिन्को पनि भाँच्न नसकेको उनले बताए । गाउँ, टोल र बजार भत्किएका सडक बनाउन दवाव दिँदा नेकपाका नेताहरूले कांग्रेसले राजनीति गरेको ठान्ने गरेको बताएका नेपाली कांग्रेसका युवा नेता महर्जनले भने, ‘विकासको कार्यक्रममा दवाव दिँदा राजनीति गरेको भन्छन् भने त्यो आरोप स्वीकार गर्न तयार छु ।’

नेपाली कांग्रेसका कार्यकर्ताको संरक्षणमा सधैँ सक्रिय रहँदै आएका महर्जनले भने, ‘राष्ट्रियताको संरक्षण र देशको विकास नेपाल कांग्रेसले मात्रै गर्न सक्छ । कम्युनिस्टहरू भनेका झुठको खेती गर्नेहरू हुन् ।’ महर्जनले मंसिर १४ गतेको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई मतदान गरेर जिताउन अपील पनि गरेका छन् ।

ललितपुर जिल्लामा नेपाली कांग्रेसको संगठन बनाउन सक्रिय रहेका युवा नेता महर्जनले सभापति मदनबहादुर अमात्य, पूर्वअर्थ राज्यमन्त्री समेत रहेका युवा नेता उदय शम्शेर राणालगायतका ललितपुरका कांग्रेस नेताहरूको टिम वर्कले ललितपुरमा अर्को पटक नेपाली कांग्रेसले क्लीन स्वीप गर्ने दाबी गरेका छन् ।

काम गर्दै जाने क्रममा आइपर्ने स–साना व्यवधानहरूलाई छिचोल्दै जानुपर्ने उनको भनाइ छ । ‘काम गर्दै जाँदा आलोचना र प्रशंसा दुबै पाइन्छ’, उनले कांग्रेसका स्थानीय युवा नेताहरूसँग भने, ‘आलोचना भयो भन्दैमा पछाडि फर्के भाग्ने होइन । त्यसलाई सुझावको रुपमा लिएर अगाडि बढ्नुपर्छ । अनि मात्रै नेपाली कांग्रेस बलियो बन्छ ।’

राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष समेत रहेका महर्जनले उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन खेलाडीहरूसँग पनि अपील गरेका छन् । ‘खेल र खेलाडीको विकास नेपाली कांग्रेसले मात्रै गर्छ’, उनले भनेका छन्, ‘कम्युनिस्टहरूबाट खेल र खेलाडीको विकास सम्भव छैन ।’

महर्जन करातेका अन्तर्राष्ट्रिय गोल्डमेडलिस्ट पनि हुन् । उनले ललितपुर जिल्लामा ठूलो धनराशिको किक बक्सिङ प्रतियोगिता गराउँदै आएका छन् । महर्जनले मंसिरको १९, २० र २१ गते तीन दिनसम्म तेस्रो वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता गर्दै छन् ।

Published : Saturday, 2019 November 16, 3:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया