प्रधानमन्त्रीको वरीपरी तस्कर र भ्रष्टहरूः रामहरि खतिवडा

ईलाम । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पार्टीभित्र मेरो र तेरो भन्ने पद्धतिको अन्त्य हुनेवित्तिकै कांग्रेस पुनः ठूलो पार्टी हुने बताएका छन् ।

नेपाली कांग्रेस ईलामले शुक्रबार ईलाम बजारमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै युवा नेता खतिवडाले पार्टीमा राम्रो काम गर्नेलाई अवस दिने हो भने कांग्रेस पार्टी आफै ठूलो भएर जाने बताए ।

‘तेरो र मेरो भन्ने होइन । हामी एकतावद्ध भएर जानुपर्छ । देशले फेरि नेपाली कांग्रेस खोजेको छ’, उनले भने, ‘ठूलो पार्टी बनाउने जिम्मेवारी फेरि तपाई र हाम्रो काँधमा आएको छ ।’

कम्युनिस्टहरूप्रति आक्रामक देखिएका नेपाली कांग्रेसका नेता खतिवडाले कांग्रेसले देशमा धेरै राम्रा कामहरू गरेको बताए ।

‘कम्युनिस्टहरूले संविधान बनाउने भनेर पहिलो पटक ठूलो पार्टी बनेर संविधानसभामा गए । चार वर्षसम्म प्रधानमन्त्री र मन्त्री खाने’, उनले भने, ‘कम्युनिस्टले चार वर्षसम्म संविधान बनाउन सकेनन् । संविधान बनाउन नेपाली कांग्रेस आउनु पर्‍यो । सत्तरी वर्षसम्म बन्न नसकेको संविधान नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभाबाट बन्यो ।’

‘झापामा मान्छेका टाउका काट्ने, लोकतन्त्र र बहुदल मान्दैनौ भन्ने पार्टीहरू पनि देख्यौँ । अरुले गर्न नसकेको काम आज नेपाली कांग्रेसले गरेर देखाउने श्रेय पाएको छ’, उनले भने, ‘कांग्रेसले राणाको अन्त्य, ०४६ को आन्दोलन, ०६२–०६३को आन्दोलन, हिजो जंगलमा हतियार बोकेर हिँडेर मान्छे हत्या गर्ने मात्रै होइन मान्छेलाई रुखमा बाँधेर गोली हान्ने माओवादीलाई शान्ति प्रक्रियामा ल्यायौँ ।’

‘कांग्रेसले जितेपछि संविधान बनायौँ । हामीले निर्वाचन हार्‍यौँ होला । हामीले गणितीय रुपमा चुनाव हार्‍यौँ । तर, सैद्धान्तिक रुपमा चुनाव हारेका छैनौँ’, नेपाली कांग्रेसका युवा नेता खतिवडाले भने, ‘हामीले लिएको सिद्धान्त देशव्यापी रुपमा विजयी भएको छ ।’

‘हिजो कम्युनिस्टहरूले कहिल्यै पनि बहुदल मानेनन् । बहुदल नमान्नेलाई हामीले बहुदल मान्ने बनायौँ’, उनले भनेका छन्, ‘हिजो बन्दुक लिएर हिँड्नेहरूलाई बन्दुकबाट होइन जनमतबाट सत्तामा पुगिन्छ भन्ने हामीले बनायौँ । मलामी जान नदिने, किरिया बस्न नदिने, रुखमा झुण्ड्याएर गोली हान्नेलाई जनमतबाट प्रधानमन्त्री बन्न सकिन्छ भन्ने बनायौँ । यो हाम्रो जित हो । यो नै कम्युनिस्टको हार हो ।’

‘संविधानसभाबाट संविधान बनाएपछि हामी पराजित भयौँ । हिजो मधेसमा वारी खाएर पारी गएर ढुंगा हान्ने, संविधान मान्दैनौँ भन्नेलाई यही संविधानभित्र ल्याउने, यही संविधानभित्र ल्याएर सिंहदरबारभित्र छिराउने पार्टी नेपाली कांग्रेस हो’, खतिवडाले भने, ‘हामीलाई गर्व छ । हामीले राम्रा काम गर्‍यौँ भनेर ।’

‘हामीले विद्यालय बनायौँ, स्वास्थ्य चौकी बनायौँ, टेलिफोन बनायौँ, खानेपानी बनायौँ । उनीहरूले बम पड्काएर सबै ध्वस्त बनाए । ती ध्वस्त बनाउने राम्रा कि हामी बनाउने राम्रा ? कम्युनिस्टहरूले कांग्रेसलाई अराष्ट्रवादी भन्छन रे । कांग्रेस नराम्रो रे । मान्छे मार्ने राम्रो कि ? मान्छे बचाउने राम्रो ?’, उनले भने, ‘यही कुरा गर्न आएका छौँ । हामीले कुनै पनि दिन हतियार लिएर जनताको घाँटी रेटिनौँ । बरु राजा तानाशाही भ एभनेर राजाका विरुद्ध बम हान्न तयार भयौँ ।’

‘हामीले कुनै पनि किसान मजदुरलाई मार्न गएनौँ । निरंकुश हुँदा राजा महेन्द्रलाई बम हान्यौँ । तर, कार्यकर्ताको हत्या गरेर राजनीति गरिनौँ’, उनले भने, ‘यो हाम्रो जित हो । कांग्रेसले राम्रो काम गरेन रे ! प्रचण्डजी बन्दुक लिएर हिजो जंगल हिँड्नु हुन्थ्यो । बन्दुक बोकेर जंगल हिँड्ने प्रचण्डलाई सिंहदरबार पुर्‍यायौँ । गोली लिएर हिँड्ने केपी ओलीलाई सरकारमा पुर्‍यायौँ । यो हाम्रा कारणले हो । तपाईहरूले कांग्रेसलाई सम्मान गर्नुपर्छ ।’

‘दुईतिहाइको सरकारले एउटा काम गर्न सकेको छैन । दुईतिहाइको सरकारले महिला र पुरुषबाहेक सबै काम गर्न सक्छ’, खतिवडाले भने, ‘यो सरकारले दुई वर्षको अवधिमा निर्मला पन्तका दोषीलाई पत्ता लगाउन सकेको छैन ।’

दुईतिहाइको कम्युनिस्ट सरकार भ्रष्टाचारमा डुबेको उनले आरोप लगाए ।

‘सरकारले सुन तस्करहरूलाई नजिकमा राखेको छ । फोरजीका नाइकेहरू प्रधानमन्त्रीको अगाडि भ्रष्टाचारीहरू छन् । ३३ किलो सुन चार अर्ब वाइडबडीको भ्रष्टाचारी प्रधानमन्त्रीका वरीपरी छन्’, उनले भने, ‘मेलम्ची खानेपानी आयोजना खाने मान्छेहरू प्रधानमन्त्रीको वरीपरी छन् ।’

‘रेल र पानीजहाज ल्याउँछु भनेर प्रधानमन्त्री थाक्नु भएको छैन । हामीलाई माइखोलामा पानीजहाज चाहिएको छैन । बरु बाटो चाहिएको छ’, खतिवडाले भने, ‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । शान्ति सुरक्षा कायम गर्न सकेको छैन । जनताको हितमा काम गर्न सकेको छैन । कांग्रेसलाई फेरि ठूलो पार्टी बनाउने जिम्मेवारी तपाई हाम्रो काँधमा आएको छ ।’

Published : Friday, 2019 November 15, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया