नेकपाका वडाध्यक्ष र सदस्यहरू राजपामा प्रवेश, राजकिशोरद्वारा स्वागत

लहान । सिरहामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित वडाध्यक्षसहित झण्डै दुई सयबढी नेता तथा कार्यकर्ता राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मा प्रवेश गरेका छन् ।

सिरहाको कर्जन्हा नगरपालिका वडा ४ मा तत्कालीन माओवादीबाट निर्वाचित वडाध्यक्ष टेकबहादुर लामा र चार जना वडा सदस्यसहित दुई सय बढी नेता तथा कार्यकर्ताले नेकपा छाडेर राजपामा प्रवेश गरेका हुन् ।

राजपामा नेपाली कांग्रेसबाट वडाध्यक्षमा प्रत्यासी बनेका सहितका नेता तथा कार्यकर्ताहरू पनि प्रवेश गरेका छन् ।

राजपा नेपालका नेता एवम् प्रतिनिधि सभाका सांसद राजकिशोर यादवले उनीहरूलाई पार्टीमा भित्र्याएका हुन् ।

कर्जन्हा नगरपालिकामा शुक्रबार बिहान आयोजित कार्यक्रममा यादवले उनीहरूलाई सामूहिक रुपमा पार्टी प्रवेश गराएका छन् ।

राजपाका नेता यादवले अब पुरानो ढर्राको राजनीतिले देशमा समृद्धि सम्भव नरहेको बताए । उनले नयाँ सोँच र भिजनसहित अघि बढेको राजपा मात्र विकल्पका रुपमा आएको बताए ।

कम्यनिष्ट पार्टीबाट राजनीति शुरु गरेर जीवन बिताएका व्यक्ति राजपालाई बुझेर आएकोमा वडाध्यक्ष लामासहित नवप्रवेशीलाई नेता यादवले धन्यवाद दिएका थिए ।

राजपा प्रवेश गरेका वडाध्यक्ष लामाले जनताको मुक्ति र देश परिवर्तनको नारा दिएर विगत १० वर्षे जनयुद्ध लडेको पार्टी सरकारमा भएपनि जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए ।

वडाध्यक्ष लामा सिरहामा कम्युनिष्ट आन्दोलनका धरोहर मानिन्छन् । कम्युनिष्टको गढ मानिने कर्जन्हा क्षेत्रमा चलेको राजपा प्रवेशको लहरले यस क्षेत्रको राजनीतिक वृतमा हलचल मचाएको छ ।

Published : Friday, 2019 November 15, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया