निःशुल्क शिक्षा र स्वास्थ्य कांग्रेसको एजेन्डा बन्नुपर्छः महर

महेन्द्रनगर । नेपाली कांग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरले निःशुल्क शिक्षा र स्वास्थ्य नेपाली कांग्रेसको एजेण्डा बन्नुपर्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेश कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिएको नेपाल शिक्षक संघको प्रदेश कार्यसमितिको प्रथम प्रतिनिधी सभालाई सम्बोधन गर्दै नेता महरले शिक्षा र स्वास्थ्य पूर्णरुपले जनताको स्वामित्वमा ल्याए मात्रै उक्त विषय जनताको पँहुचमा आउने र त्यो नै कांग्रेसको मुख्य एजेण्डा बन्नुपर्ने बताएका हुन् ।

कांग्रेस प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने पार्टी भएकाले गरिबका छोराछोरीले पनि डाक्टर पढ्न पाउनुपर्छ भन्ने एजेण्डा बोकेर अगाडी बढेको छ, नेता महरले भने, ‘गरिब, विपन्नले पनि निशुःल्क र सहज रुपमा सेवा पाउनुपर्छ भन्ने एजेण्डा कांग्रेसको हो र बन्नुपर्छ ।’

नेता महरले सम्बोधनका क्रममा स्थायी, अस्थायी र करार गरी देशभर ४ लाखको हाराहारीमा रहेका शिक्षकहरुको सेवा सुविधामा सरकार गम्भीर हुनुपर्ने र शिक्षकहरू पनि विद्यार्थीको मुख्य अभिभावक भएकाले जिम्मेवार बन्नुपर्ने बताए ।

महरले नेपाली भूमि मिचिएको बारे सरकार गम्भीर नबनेको भन्दैं आक्रोश पोखेका छन् । मिचिएको नेपाली भूमि फिर्ता ल्याउन मर्न र मार्न परेपनि कांग्रेस पछि नहट्ने उनले बताए ।

Published : Friday, 2019 November 15, 7:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया