नेपालगञ्जमा तरुणद्वारा राँके जुलुस प्रदर्शन, शुक्रबार बन्द आह्वान

नेपालगञ्ज । नेपाल तरुण दल बाँकेले जिल्ला बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस प्रदर्शन गरेको छ ।

प्रहरी ज्यादतीविरुद्ध तरुण दलले शुक्रबार बाँके जिल्ला बन्दको आह्वान गरेको छ ।

बन्दलाई सफल बनाउन तरुण दलका नेता तथा कार्यकर्ताहरूले बिहीबार साँझ नेपालगञ्जमा राँके जुलुस प्रदर्शन गरेका हुन् । राँके जुलुसमाथि प्रहरीले हस्तक्षेपको प्रयास गरेको थियो ।

उनीहरूले बाँकेका प्रमुख जिल्ला अधिकारी र बाँकेका प्रहरी प्रमुख एसपी तथा ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपीविरुद्ध नारावाजी गरेका थिए ।

नेपालगञ्ज तरुण दल कार्यसमितिका अध्यक्ष सन्दीपजंग शाहसहितका तरुण नेताहरूलाई हतियार काण्डमा मुद्धा लगाएपछि तरुण दल बाँके आन्दोलनमा छ ।

झुठ्ठा मुद्धा लगाएर फसाइएका तरुण नेताहरूको रिहाइ माग गरेर तरुण दलले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

दशैँमा खसी माग्दा नदिएको झोँकमा बाँके प्रहरीले तरुण नेताहरूलाई गोली हानेर तिघ्रा छेड्ने धम्की दिएको अडियो सार्वजनिक भएपछि बाँके प्रहरीको नेतृत्व विवादमा आएको छ ।

Published : Thursday, 2019 November 14, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया