कम्युनिस्टको अराजकता रोक्न कांग्रेसलाई जिताउनुस्ः चापागाइँ

भक्तपुर । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले जनताले दिएको म्याण्डेट विपरित गएको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई सहि ठाउँमा ल्याउन उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन अपील गरेका छन् ।

चागुनारायण बसपार्क वडा नम्बर ४, मन्दिर परिसरमा बिहीबार भक्तपुर निर्वाचन क्षेत्र १ ‘क’को घरदैलो तथा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष चापागाइँले कम्युनिस्ट सरकार जनताले दिएको क्षेत्राधिकारभन्दा बाहिर जान थालेको बताए ।

‘जनताले मुलुकको समृद्धि, विकास र संविधान कार्यान्वयन होस् भनेर कम्युनिस्टहरूलाई झण्डै दुईतिहाइको मत दिएका थिए’, उनले भने, ‘जनताले दिएको मतको अपमान गर्दै कम्युनिस्ट सरकारले गर्नै नहुने कामहरू गरिरहेको छ । यो सरकारलाई सबक सिकाउनुपर्छ ।’

चापागाइँले कम्युनिस्ट सरकारलाई सबक सिकाउनका लागि पनि उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरे ।

‘मूल्य वृद्धि, भ्रष्टाचार, अन्याय, अत्याचार, अनियमितता, हिंसा लगायतका काण्ड मच्चाउने यो सरकारलाई सब सिकाउनुपर्छ’, उनले भने, ‘उपनिर्वाचनमा कांग्रेसलाई विजयी बनाएर कम्युनिस्ट सरकारलाई सहि ठाउँमा ल्याउनुपर्छ ।’

नेपाल तरुण दलका उपाध्यक्ष चापागाइँले कम्युनिस्ट सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्नुपर्ने बताए ।

‘आफ्नो दायित्वभन्दा बाहिर गएकाले यो सरकारलाई सबक सिकाउनुपर्छ’, उनले भने, ‘भक्तपुर क्षेत्र नम्बर १ ‘क’मा नेपाली कांग्रेसका पुराना र लोकप्रिय नेता कृष्णलाल भँडेललाई पार्टीले टिकट दिएको छ । उहाँलाई तपाईहरूले जिताउनुस् । तपाईहरूको समस्या र यहाँको विकासको जिम्म उहाँले लिनुहुन्छ ।’

नेकपा निकटको अराजक तत्व भक्तपुरमा सक्रिय रहेको उनले बताए । ‘रातारात ठेकेदारी, दलाली, जग्गा प्लटिङ गर्ने काम नेकपाका केही जनप्रतिनिधिहरूले भक्तपुरमा गरेका छन्’, चापागाइँले भने, ‘नेकपाका गलत हर्कतको खबरदारी गर्नुपर्छ । यस्ता तत्वहरूलाई खबरदारी गर्नुपर्छ । ती अराजक तत्वले धम्काउने काम गर्‍यो भने तरुण दल केन्द्रीय समितिले चुप लागेर सहनेछैन ।’

‘भक्तपुर तरुण दल पनि आफैमा बलियो छ’, उनले भने, ‘यो कम्युनिस्ट सरकारलाई चेतावनी दिन पनि भक्तपुरको चागुनारायणका जनताले नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई जिताउनुपर्छ ।’

उनले भने, ‘नेपाली जनता अराजकताको विरुद्धमा छन् । नेपाली कांग्रेसको पक्षमा छन् । कांग्रेसका उम्मेदवारहरूलाई जिताऔँ । आजको आवश्यक्ता यही हो ।’ चापागाइँले कम्युनिस्टहरूको मिठा र चिल्ला कुराको पछाडि नलाग्न भक्तपुरको मतदाताहरूलाई अपील गरे ।

नेपाल तरुण दलले भक्तपुरसहित देशैभरि उपनिर्वाचन हुन लागेका स्थानमा तरुणहरूलाई क्रियाशील बनाएको छ । निर्वाचनको प्रचार प्रसारमा तरुणहरू सक्रिय भएर खटिएका छन् ।

Published : Thursday, 2019 November 14, 10:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया