कांग्रेसका राईलाई न्याय गर्न धरानसँग खतिवडाको अपील

धरान । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले धरान उपमहानगरपालिकाको मेयरमा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका तिलक राईलाई मतदान गरेर न्याय गर्न अपील गरेका छन् ।

धरानमा बुधबार साँझ आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले नेपाली कांग्रेसका असल नेता राईलाई विजयी बनाउन आग्रह गरेका हुन् ।

‘धरानले गल्ती गर्‍यो भन्छिन’, उनले भने, ‘यस पटक तपाईहरूले नेपाली कांग्रेसबाट राम्रो व्यक्ति तिलक राई उम्मेदवार बनेकाले उहाँलाई न्याया गरेर मतदान गरी विजयी बनाइदिनुस् ।’

विगतमा धरानका जनताले कम्युनिस्टहरूलाई धेरै नै माया गरेको भन्दै खतिवडाले जितेर गएपछि धरानको विकासमा फर्केर पनि नहेरेको बताए ।

नेपाली कांग्रेसका युवा नेता खतिवडाले विगतमा जे जस्तो भएपनि यस पटक कांग्रेसका उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।

धरानमा नेपाली कांग्रेसले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएको भन्दै खतिवडाले भने, ‘कांग्रेसले अस्पताल बनायो कम्युनिस्टहरूले बम पड्काएर क्षति पुर्‍याए । खानेपानी बनायौँ कम्युनिस्टले पाइपनै काटिदिए ।’

कम्युनिस्टहरूको बोलाइ र गराइमा तालमेल नरहेको भन्दै खतिवडाले निर्वाचनका बेला मिठा कुरा गरेर मतदातालाई झुक्काउने गरेको बताए ।

विदेशीको तस्वीर बोक्ने, पार्टीको नाम पनि विदेशी नेताकै नाममा राख्ने कम्युनिस्टहरू कहिल्यै पनि राष्ट्रवादी नहुने खतिवडाले बताए ।

नेपाली कांग्रेसका नेता खतिवडाले चेलीबेटीलाई कम्युनिस्टहरूबाट बचाउन गाह्रो हुन थालेको व्याङ्ग्य गरेका छन् ।

‘कम्युनिस्टले हाम्रा चेलीबेटीलाई कुन हालतमा पुर्‍याउन थाले भन्ने कुरा सभामुख र मुख्यमन्त्रीको कार्यले प्रष्टै भएको छ’, उनले भने, ‘उपनिर्वाचनमा के मुखले कम्युनिस्टहरूले हाम्रा आमा र दिदीबहिनीहरूसँग कसरी भोट माग्छन् ?’

कम्युनिस्टहरूले वृद्ध भत्ता पाँच हजार दिने भनेर जनतालाई झुक्काएर भोट लिएर जितेको उनले बताए । प्रधानमन्त्री खड्गप्रसाद ओली सबैभन्दा ठूलो झुठ बोल्ने नेता भएको उनले बताए ।

खतिवडाले धरानले जिताएर पठाएका जनप्रतिनिधिहरू काठमाडौंमा जग्गा प्लटिङ गरेर कारोबारी भएर बसेको समेत बताए ।

उनले देशको मुहार फेर्छु भन्ने ओली बालुवाटारमा सुतेर बसेको बताए । ‘देशको नक्सा परिवर्तन हुँदा पनि ओलीज्यू सुतेर बस्नु भएको छ’, खतिवडाले बताए ।

धरानमा धेरै व्यक्तिहरू बेलायतमा बस्ने दाजुभाई तथा दिदीबहिनीहरू रहेको बताएका खतिवडाले भने, ‘बेलायत प्रजातन्त्रको जननी देश हो । बेलायतमा बसेर तपाईहरूले प्रजातन्त्रको पक्षमा मतदान गर्नु होला । कम्युनिस्ट भनेका प्रजातन्त्रमा विश्वास गर्दैनन् । उनीहरू अधिनायकवादी हुन् ।’

Published : Wednesday, 2019 November 13, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया