भक्तपुरको लालकिल्लामा कांग्रेसले यस पटक किलो गाढ्छः रामहरि खतिवडा

भक्तपुर । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले उपनिर्वाचनमा भक्तपुरमा नेपाली कांग्रेसले लालकिल्लामा जितको किलो गाड्ने बताएका छन् ।

भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ ‘क’मा नेपाली कांग्रेसले शुरु गरेको घरदैलो कार्यक्रमका क्रममा दुवाकोटमा मंगलबार आयोजित कोण सभालाई सम्बोधन गर्दै खतिवडाले लालकिल्लामा कांग्रेसले किल्ला गाडेरै छाड्ने बताए ।

‘भक्तपुर जिल्ला कांग्रेसको किल्ला बन्नेछ’, उनले भने, ‘कांग्रेसले जित्नेछ । भक्तपुरमा कांग्रेसले किल्ला गाढ्यो गाढ्यो ।’

खतिवडाले भक्तपुरमा नेमकिपाले सधैँ किसान र मजदुरका नाममा राजनीति गरे पनि कहिल्यै जनताका नाममा राजनीति नगरेको बताए ।

भक्तपुरको क्षेत्र नमबर १ ‘क’मा नेपाली कांग्रेसको तर्फबाट कृष्णलाल भँडेललाई उम्मेदवार बनेका छन् । भँडेललाई जिताउन नेपाली कांग्रेस भक्तपुरले सोमबारदेखि घरदैलो कार्यक्रम शुरु गरेको छ ।

नेपाली कांग्रेसले भक्तपुर १ ‘क’मा योग्य उम्मेदवारलाई टिकट दिएको भन्दै खतिवडाले मतदान गरेर विजयी बनाउन आग्रह गरे । भँडेल जत्तिको उम्मेदवार पाउनु भनेको भक्तपुरबासीलाई शुभ अवसर भएको उनले बताए ।

‘राजालाई हटायौँ । माओवादी जंगलमा बसेका थिए । शिक्षकलाई झुण्ड्याएर मार्ने अवस्था थियो । किरिया बस्नेतलाई हत्या गर्ने काम भयो’, उनले भने, ‘माओवादीलाई शान्ति प्रक्रियामा ल्यायौँ । संविधान हामीले बनायौँ । निर्वाचन हामीले गर्‍यौँ । भोट चाहिँ अरुलाई दिनु हुँदैन । कांग्रेसलाई नै भोट दिनुस् । रुख चिन्हमा मतदान गर्नुस् ।’

‘कम्युनिस्ट पार्टीबाट जनता आजित बनेका बेला भक्तपुरबाट कृष्णलाल भँडेललाई पाउनु भएको छ’, उनले भने, ‘यो क्षेत्रका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल उपयुक्त व्यक्ति हुनुहुन्छ ।’

‘दुई वर्षमा दुईतिहाइको सरकारले केही गर्न सकेन । भ्रष्टाचारमा डङडङती गन्हाउन थाल्यो’, उनले भने, ‘यो क्षेत्रमा कम्युनिस्टले जिते । तर, केही काम हुन सकेन । त्यसैले काम गर्नका लागि नेपाली कांग्रेसको रुख चिन्हमा भोट हाल्नुस् ।’

उनले भने, ‘माओवादीलाई कतै जाने ठाउँ नभएपछि कांग्रेसको नेतृत्वमा शान्ति प्रक्रियामा आउनु प¥यो । एमालेलाई बहुदलीय पार्टी बनायौँ । चुनाव विश्वास नगर्ने माओवादीलाई चुनावमा ल्यायौँ ।’

चार जना कम्युनिस्ट प्रधानमन्त्री बनाउन नसकेको संविधान नेपाली कांग्रेसले बनाएको खतिवडाले बताए । ‘कांग्रेसले संविधान बनायो’, उनले भनेका छन् ।

‘विदेशी नेताको तस्वीर बोकेर राष्ट्रवादी कुरा गर्ने कम्युनिस्टलाई हामीले नेपालवादी बन भनेर सिकायौँ’, उनले भने, ‘कम्यनिस्टको सत्ता आईसकेपछि देशको नक्सा परिवर्तन गर्छौं भने । तर, देशको नक्सा भारतले परिवर्तन गर्दा लम्पसार परेका छन् ।’

‘कम्युनिस्टले जित्यो भने देशले कोल्टे फेर्छ भन्थे’, नेपाली कांग्रेसका नेता खतिवडाले भने, ‘कम्युनिस्टले जित्दा कोल्टो परेन । उत्तानो परेर लम्पसार परेको छ ।’

Published : Tuesday, 2019 November 12, 5:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया