राजा फाल्ने कांग्रेससँग टक्कर नलिन बाँकेका सीडीओ र एसपीलाई पाण्डेको चेतावनी

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभामा प्रमुख विपक्षी दलका नेता सुरेन्द्र पाण्डेले बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ), प्रहरी प्रमुख (एसपी) र ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डीएसपी)लाई कांग्रेसमाथि ज्यादती नगर्न चेतावनी दिएका छन् ।

नेपाल तरुण दल बाँकेले नेपालगञ्जमा स्थानीय प्रशासन र प्रहरीको ज्यादतीविरुद्ध सोमबार आयोजना गरेको विरोध र्‍याली र सभालाई सम्बोधन गर्दै पाण्डेले नेकपाको कार्यकर्ता नबन्न सीडीओ र एसपीलाई सल्लाह दिए । उनले सीडीओ र प्रहरी प्रमुखलाई निष्पक्ष भएर प्रशासन चलाउन चेतावनी दिए ।

‘यो दलिय व्यवस्था हो । दलीय व्यवस्थामा राजनीतिक गतिविधि हुन्छन्’, पाण्डेले चेतावनीयुक्त शैलीमा भने, ‘सीडीओले सरकारको ताबेदार र एसपीले नेकपाको कार्यकर्ता बनेर बस्ने हो भने तपाईहरूका दिनगन्ती शुरु भएको ठान्नुस् । यो सरकार त दिनगन्ती शुरु भइसकेको छ । यस्तै गतिविधि हुने हो भने यही सरकार हुँदाहुँदै पनि तपाईहरूले जागिरबाट हात धुनु पर्ला ।’

नेपाली कांग्रेसका कार्यकर्तामाथि बाँकेमा सीडीओ र प्रहरी प्रमुखको अन्याय र अत्याचार बढेकाले आफू केन्द्रबाट खटिएको बताएका पाण्डेले बाँकेमा बढेको ज्यादती रोक्न सुझाव दिए ।

‘संसद चलेको छैन । फेरि यहाँ ज्यादती बढेको छ । प्रहरी प्रशासनको ज्यादतीको विरुद्धमा खबरदारी गर्नको निम्ती म आएको छु’, उनले भने, ‘यहाँको प्रहरीका हाकिमले बुझ्नुपर्छ । सीडीओले बुझ्नुपर्छ ।’

सरकारको नीति निर्देशन चल्नु सीडीओ र प्रहरी प्रमुखको दायित्व भएको बताउँदै पाण्डेले कांग्रेसलाई मात्रै दुःख दिने गरेर हुने गतिविधि आफूहरूलाई स्वीकार्य नरहेको बताए ।

‘प्रशासन र प्रहरीको दायित्व हामी पनि बुझ्छौँ । कांग्रेसले लामो समय प्रशासन चलाएर आएको हो’, उनले भने, ‘नेकपाको कार्यकर्ता जस्तो भएर सीडीओ र प्रहरी प्रमुख हिँड्ने होइन । निष्पक्ष भएर काम गर्नुस् ।’

नेपाली कांग्रेसले लामो संघर्ष गरेर आएको पार्टी भएको भन्दै नेता पाण्डेले कांग्रेससँग नटकराउन चेतावनी दिए ।

‘राणा, पञ्चाय र राजसंस्था ढाल्ने पार्टी हो कांग्रेस । बन्दुक र खुकुरी देखाएर, मान्छे मारेर सत्तामा परिवर्तन गर्छु भन्ने माओवादीलाई जंगलबाट ल्याएर मूलधारको राजनीतिमा ल्याउने पार्टी हो कांग्रेस’, नेता पाण्डेले धम्कीयुक्त शैलीमा भने, ‘कांग्रेससँग टक्कर लिन खोज्ने राणा, पञ्च र राजा समाप्त भएर गए । यी कम्युनिस्ट । बाँकेका सीडीओ र प्रहरी प्रमुख केही होइनन् । आफै समाप्त भएर जानु होला । ध्यान दिनुस् ।’

आफ्नो नामलाई टिकाउन नसक्ने कम्युनिस्टहरूलाई विश्वास गरेर पछाडि नलाग्न नेपाली कांग्रेसका नेता पाण्डेले बाँकेका सीडीओ र एसपीलाई सुझाव दिए । ‘हिजो कम्युनिस्टको नाममा एमाले र माओवादी थिए । माओवादी र एमाले यो देशबाट विसर्जन भएका छन्’, उनले भने, ‘जुन पार्टी आफ्नो पार्टीको नाममा टिक्न सकेको छैन । यस्ता पार्टीले सरकार चलाउँदै छ । यस्ताको पछाडि नलाग्नुस् । बिचार गर्नुस् ।’

नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई दुःख दिएकोमा आक्रोशित देखिएका पाण्डेले भने, ‘तपाई सीडीओ र एसपीको उमेर कति छ ? जागिर खाने समय कति छ ? त्यति मात्रै तपाईहरूले विचार गर्नुस् । तपाईहरूले आफ्नो जागिर ३२ वर्ष पुर्‍याउन चाहनु हुन्छ । तपाई ५८ वर्षको उमेर पुगेसम्म जागिर खाएर राष्ट्र सेवक बनेर खान्छु भन्ने चाहना छ भने तपाईले निष्पक्ष प्रशासन चलाउनुस् । होइन भने बीचैमा जे पनि हुन सक्छ ।’

नेपाली कांग्रेसका नेता पाण्डेले केही महिना अगाडि पनि बाँकेको सीडीओ र एसपीले कांग्रेसको सभापति किरण कोइरालाको हात भाँच्चिदिने नेकपाको नेताविरुद्धको उजुरी लिन नमानेको प्रशंग कोट्याउँदै कांग्रेसले संसदमा गरेको आन्दोलनलाई ध्यान दिन सचेत गराए ।

नेता पाण्डेले बाँकेका सीडीओ र एसपी तथा कोहलपुरका डीएसपीलाई सत्ताको तलुवा नचाट्न पटक पटक सुझाव दिए । अन्यथा पछुताउनुपर्ने उनले चेतावनी दिए ।

तरुण दल बाँकेको अगुवाइमा सोमबार नेपालगञ्जमा हजारौँको सहभागितामा प्रदर्शन भएको छ । तरुण दलले बाँकेका सीडीओ र एसपीका विरुद्ध थप आन्दोलनको घोषणा समेत गरेको छ ।

नेपालगञ्ज तरुण दलका नगर अध्यक्ष सन्दीजंग शाहसहितका तरुण नेताहरूलाई पक्राउ गरेपछि तरुण दलले आन्दोलन चलाएको छ ।

Published : Monday, 2019 November 11, 11:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया