तरुण उपाध्यक्ष चापागाइँद्वारा बाँके प्रहरीकाे भण्डाफाेर, खाेले चिकत पर्ने भित्रीराज

नेपालगञ्ज । नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले तरुणहरूलाई कमजोर नठान्न बाँकेको प्रहरी नेतृत्वलाई चेतावनी दिएका छन् ।

केन्द्रीय कार्यसमितिको निर्देशनमा नेपाल तरुण दल बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको विरोध प्रदर्शन र सभालाई सम्बोधन गर्दै चापागाइँले जनता राजस्वबाट तलब खाने प्रहरीलाई जनताको सेवक बन्न सुझाव दिए ।

उनले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको पुच्छर नबन्न बाँके प्रहरीको नेतृत्वलाई चेतावनी दिएका छन् ।

उनले कम्युनिस्टहरूको मात्रै पछाडि लागेर जनतालाई त्रसित बनाउने कार्य तत्काल रोक्न आग्रह गरे ।

‘तरुण नेतासँग खसी माग्ने । खसी नदिएपछि गोली हानेर तिघ्रा छेड्छु भनेर धम्की दिने । प्रहरीको जिब्रोमा मिठो बोली भनेको यही हो ?’, प्रश्न गर्दै चापागाइँले सोधे, ‘नेपाल प्रहरी जनताको साथी बनेर बस्नुपर्छ । तर्साउने । धम्काउने गरेर बस्ने होइन । नेकपाको पुच्छर बन्ने होइन ।’

तरुण दलका उपाध्यक्ष चापागाइँले बिहीबारभित्र ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेमबहादुर शाहीलाई हटाएर कारबाहीको माग गरेका छन् । अन्यथा आन्दोलन चर्काउने उनले चेतावनी दिए ।

तरुण दलको संयमतालाई कमजोरीका रुपमा नलिन बाँके प्रहरीलाई उनको सुझाव थियो ।

‘हामी विधिको शासनको पक्षमा छौँ । कसैले गल्ती गरेको छ भने कारबाही हुनुपर्छ’, चापागाइँले भने, ‘प्रहरी आफैले गाडीभित्र हतियार राख्ने । तरुण नेताहरूसँग दुश्मनी साँध्ने । आफैले गएर गाडीबाट हतियार फेला पर्‍यो भनेर निकाल्ने । यस्तो पनि हुन्छ ? हतियार फेला परेको घटनाको निष्पक्ष छानविन हुनुपर्छ । हामीलाई अर्कै सूचना आएको छ ।’

उपाध्यक्ष चापागाइँले नेपालगञ्ज तरुण दल नगर समितिका अध्यक्ष सन्दीपजंग शाहको गाडीबाट हतियार फेला परेको प्रहरीको अभियोगको निष्पक्ष छानविन हुनेपर्ने भन्दै घटनाका बारेमा आफूहरूलाई पनि थुप्रै सूचना आएको बताए ।

उनले आवश्यक पर्‍यो भने तरुण दलले बाँके प्रहरीका एसपी वीरबहादुर ओली र डीएसपी हेमबहादुर शाहीका बारेमा खुलासा गर्ने संकेट गरे ।

उपाध्यक्ष चापागाइँले पक्राउ परेका तरुण नेताहरू नछुट्दासम्म आन्दोलन जारी रहने भन्दै बाँकेमा हड्तालसम्मको कार्यक्रम घोषणा गरेका छन् ।
विरोध प्रदर्शनमा युवा तरुणका साथै नेपाली कांग्रेसका हजारौँ नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए ।

Published : Monday, 2019 November 11, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया