ओली र भारतको विरोध गर्दा पक्राउ परेका नेविसंघका नेताहरू रिहा

काठमाडौं । भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्साभित्र राखेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले निकालेको मसाल जुलुसका क्रममा प्रहरीले पक्राउ गरेका विद्यार्थी नेताहरूलाई रिहाइ गरिदिएको छ ।

आइतबार साँझ काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडिबाट पक्राउ परेका नेविसंघका विद्यार्थी नेताहरूलाई प्रहरीले झण्डै तीन घण्टा राखेर छाडिदिएको हो ।

भारतविरुद्ध निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

नेविसंघका विद्यार्थी नेताहरूले लिपुलेक र कालापानी हाम्रो होभन्दै भारत र दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध नारावाजी गरेका थिए ।

उनीहरूलाई पक्राउ गरेर प्रहरीले विद्यार्थी नेताहरूलाई प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लवमा राखेको थियो ।

पक्राउ परेका विद्यार्थीलाई डीएसपी पवन भट्टराईले लात्ती प्रहार गर्नुका साथै अभद्र व्यवहार गरेको पक्राउ परेका विद्यार्थीलाई उदृत गर्दै नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले जानकारी दिएका छन् ।

विद्यार्थी नेताहरू पक्राउ परेपछि उनीहरूको रिहाइ माग गरेर शाहसहितका विद्यार्थी नेताहरू महेन्द्र पुलिस क्लव अगाडि जम्मा भएर प्रहरीलाई दवाव दिएका थिए ।

पक्राउ परेर रिहाइ हुनेमा प्रेम शाही, शैलेन्द्र गौडेल, सुरज सेजवाल, पंकज सुवेदी, लक्ष्मी सिलवाल, अशोक विष्ट, अनुराग शाह, बलराम ढकाल, शिखर खड्का, सुरज नेपाल, मनीष खड्का लगायतका विद्यार्थी रहेका छन् ।

Published : Sunday, 2019 November 10, 10:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया