प्रहरी ज्यादतीविरुद्ध बाँकेमा सोमबार तरुणको प्रदर्शन, एसपी र डीएसपीको भण्डाफोर गर्ने

नेपालगञ्ज । नेपाल तरुण दलले बाँके जिल्लामा तरुण नेताहरूमाथि प्रहरीद्वारा गरिएको ज्यादती र दमनका विरुद्ध सोमबारदेखि आन्दोलन गर्दै छ ।

तरुण दल नेपालगञ्ज समितिका अध्यक्ष सन्दीपजंग शाहीसहितका तरुण नेताहरूलाई हतियार काण्ड लगाएर मुद्धा चलाएपछि नेपाल तरुण दल बाँकेको अगुवाइमा सोमबारदेखि प्रहरीको ज्यादतीविरुद्ध आन्दोलन हुन लागेको हो ।

नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले एकपछि अर्को गर्दै बाँकेमा तरुण नेताहरूलाई प्रहरीले विभिन्न मुद्धा र जालझेल गरेर फसाउन थालेपछि बाध्य भएर सडकमा उत्रिनु परेको बताए ।

‘हामीलाई आन्दोलन गर्न बाँकेको प्रहरीले बाध्य बनायो । हाम्रा तरुण साथीहरूलाई हतियार बरामद भएको बहाना बनाएर फसाइएको छ’, उनले भने, ‘दशैँमा खसी नदिएको झोँकमा तरुण नेतालाई तिघ्रामा गोली छेड्ने धम्की दिइएको छ । झुठ्ठा मुद्धामा पक्राउ गर्न खोजिएको छ ।’

उपाध्यक्ष चापागाइँले तरुण नेताहरूलाई व्यक्तिगत रिसिबीमा प्रहरीले धमाधम फसाउन थालेपछि केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सोमबारदेखि नेपालगञ्जमा आन्दोलन गर्न थालिएको बताए ।

उनले भने, ‘नेपालगञ्जमा अध्यक्ष जितजंग बस्नेत स्वयं आफै उपस्थिति भएर आन्दोलन गर्ने निर्णय गरेर काठमाडौं फर्किनु भएको छ । स्थानीय तरुण र कांग्रेसका साथीहरूले आन्दोलन चर्काउनु हुन्छ । हामीले पनि साथ दिन्छौँ ।’

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको अधिनायकवाद शैलीका कारण जनताले दुःख पाएको भन्दै नेपाली कांग्रेसले आरोप लगाइरहेका बेला बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली र ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी हेमबहादुर शाहीले तरुण नेताहरूलाई दुःख दिएको आरोप छ ।

नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा सोमबार बिहान ११ बजे जम्मा भएर नगर परिक्रमा गर्दै विरोध र्‍याली जिल्ला प्रशान कार्यालय बाँकेको मूल गेटमा पुगेर सभामा परिणत हुने जनाइएको छ ।

सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका राष्ट्रिय सभामा प्रमुख विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसका केन्द्रीय सदस्य किशोरसिंह राठौर, नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँ, नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइराला र नेपाल तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाहले सम्बोधन गर्नेछन् ।

प्रहरी ज्यादतीविरुद्धको सोमबारको प्रदर्शनमा तरुण दलले गाउँगाउँबाट हजारौँ कार्यकर्ता नेपालगञ्जमा उतार्ने तयारी गरेको छ ।

Published : Sunday, 2019 November 10, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया