कम्युनिस्टलाई हराउन दाङमा कांग्रेसले बनायो समिति, एक भए नेताहरू

तुलसीपुर । दाङ क्षेत्र नम्बर ३ ‘२’ प्रदेश सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले चुनावी माहोल तताएको छ ।

नेपाली कांग्रेस दाङले क्षेत्र नम्बर ३ ‘२’ को आयोजनामा शुक्रबार श्रीगाँउमा पार्टीको चुनावी भेला गरेको छ ।

भेलाले प्रदेश सभासदस्यका उम्मेदवार केशव आचार्यलाई निर्वाचित गराउन ५ सय १ सदस्यीय प्रचार प्रसार मूल समिति गठन गरेको सचिव चुडामणि ढकालले जानकारी दिएका छन् ।

क्षेत्र नम्बर ३ ‘२’का सभापति खिमबहादुर वलीको संयोजकत्वमा क्षेत्र नम्बर ३ ‘२’ अन्तर्गत दंङगीशरण, बबई र शान्तिनगर गाउँपालिकाका, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १, २, १० र ११ नम्बर नेपाली कांग्रेस इकाई सभापति, वडा समिति, महासमिति, महाधिवेशन प्रतिनिधि, नेपाल तरुण दल, नेविसंघ, महिला संघ, नेपाल प्रेस युनियन, शिक्षक, दलित, महिला, अपाङ्ग लगायत सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक संघ संस्थाहरूको प्रतिनिधित्व हुने गरी ५ सय १ सदस्यीय प्रचार प्रसार मूल समिति गठन गरिएको नेपाली कांग्रेस दाङले जनाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले लोकतन्त्रवादी र कम्युनिस्टवीचको प्रतिस्पर्धाका लागि उपनिर्वाचनलाई लिएको बताएका छन् ।

उनले भने, ‘त्यस कारण अब कुनै पनि बहानामा वा प्रतिशोधमा नभई लोकतान्त्रिक प्रणालीको रक्षाका लागि चुनावी मैदानमा उत्रन सबैलाई आग्रह छ ।’

नेपाली कांग्रेसका नेता एवम् प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरीले दुईतिहाइ बहुमत प्राप्त कम्युनिस्ट सरकारबाट निराश भएका नागरिकलाई कांग्रेसको पक्षमा ल्याउनुपर्ने बताए । उनले नेपाली कांग्रेसले मात्रै जनताको समस्याको हल गर्ने बताए ।

प्रदेशसभा सदस्यका उम्मेदवार केशव आचार्यले चुनावी मैदानमा उत्रन आह्वान गर्दै रातलाई रात र दिनलाई दिन नभनिकन नागरिकको घरदैलोमा पुग्ने प्रतिबद्धता जनाए । उनले नेपाली कांग्रेसभित्रको आन्तरिक समस्या भए त्यसलाई निर्वाचनभरि थाँती राखेर चुनावी मैदानमा लाग्न सबैसँग अपील गरे ।

कम्युनिस्टहरूबाट जनता आजित बनेको भन्दै उम्मेदवार आचार्यले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई सहि ठाउँमा ल्याउन कांग्रेसको जित अनिर्वाय रहेको बताए ।

Published : Saturday, 2019 November 9, 8:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया