कम्युनिस्ट भनेका झुठ हुन्, विकास कांग्रेसले नै गर्छः योगेन्द्र चौधरी

लमही । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद योगेन्द्र चौधरीले माओवादीको सशस्त्र द्वन्द्वका बेला दुःख पाएकाहरूको संरक्षण कांग्रेस पार्टीले मात्रै गर्ने बताएका छन् ।

बिहीबार दाङको देउखुरी उपत्यकास्थित राजपुर गाउँपालिकाको वडा नम्बर ७ भौवा नाकामा नेपाली कांग्रेसका नेता स्व.धनबहादुर मगरको श्रद्धाञ्जलि कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले सशस्त्र द्वन्द्वका बेला कांग्रेसका नेता तथा कार्यकर्ताले धेरै दुःख झेल्नु परेको बताए । माओवादीलाई साथ दिएकाहरूलाई समेत दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले कुनै कुरा सम्बोधन नगरेको उनले बताए ।

‘भौवा नाकाका तपाईहरूले माओवादीको यातना झेल्नुभयो । दवावमा परेर माओवादीहरूलाई सेल्टर दिन बाध्य हुनुभयो’, नेता चौधरीले भने, ‘माओवादीहरू सत्तामा छन् । तर, तपाईहरूको दुःख, कष्ट र पीडा सुन्ने फुर्सद उनीहरूलाई छैन ।’

दुरदराजका जनताको आवाज नेपाली कांग्रेसले नै सुन्ने भन्दै युवा नेता चौधरीले भने, ‘भौवा नाकाको विकासमा गाउँपालिकाले विशेष ध्यान दिनेछ ।’

नेता चौधरीले माओवादीको हिंसात्मक आतंक भएका बेला पनि भौवा नाकामा निडर रुपमा बसेर नेपाली कांग्रेसको संगठन गरेको भन्दै स्व.धनबहादुर मगरको योगदानको प्रशंसा गरेका छन् ।

राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनकुरमारी यदावले भौवा नाकामा टेलिफोन सुविधाका लागि टेलिफोन टावर बनाउन लागिएको बताइन् ।

उनले भनिन्, ‘भौवा नाकामा अहिले पनि भारतको सञ्चारको भर पर्नुपर्छ । गाउँपालिकाले टेलिफोन टावर बनाउने ठेक्का दिइसकेको छ । छिटै यो ठाउँका जनताले टेलिफोन सुविधा पाउनु हुनेछ ।’

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डे, नेपाली कांग्रेसका नेता जानकीलाल बस्नेत, मधुसुदन न्यौपाने, कर्णबहादुर खड्का, ईकाइ सभापति मञ्जित खड्कालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन लालवीर खड्काले गरेका थिए ।

Published : Friday, 2019 November 8, 5:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया