शेरबहादुर देउवा असफल सभापतिः डा.शशांक कोइराला

नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले कांग्रेसको नेतृत्वमा ल्याएको संविधान सबैले मिलेर संरक्षण गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस गैंडाकोट वडा नम्बर ९ ले सोमबार आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले कांग्रेसको नेतृत्वमा कांग्रेस र कम्युनिस्ट मिलेर संविधान ल्याइएको बताए । उनले दुबै शक्ति जिम्मेवार बनेर संपिधानको पूर्णपालन गर्नुपर्ने बताए ।

डा.कोइरालाले तेह्रौ महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भए पनि पार्टीले खासै उपलब्धि हासिल गर्न नसकेको बताए ।

उनले कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टीमा आमूल परिवर्तन गर्नुपर्ने बताए ।

‘पार्टीमा अब शेरबहादुर देउवाले विश्राम लिएर मार्ग प्रशस्त गर्नुपर्छ’, उनले भने, ‘१४औँ महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन गर्नेछ ।’

कार्यक्रममा १३औँ महाधिवेशनबाट देउवाकै कार्यसमितिमा महामन्त्री रहेका डा.कोइरालाले पार्टीका लागि के र कस्ता ? उपलब्धी गरेका हुन् सोबारेमा भने मौन रहेका थिए ।

देउवालाई असफल सभापति भनेका महामन्त्री डा.कोइरालाले कति जिम्मेवारी बहन गर्नुपर्ने हो कार्यक्रममा अन्य नेताहरूले खासखुस कुरा गरेका थिए । उनले नेपाली कांग्रेस एक ढिक्का भएर अघि बढनु पर्ने बताएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनले पार्टीमा आमूल परिवर्तन हुने र सभापतिमा नयाँ व्यक्ति आउने भएकाले पनि शेरबहादुर देउवाले सभापति छोडेर सम्मानित भएर बस्नु पर्ने बताए ।

‘अब नेपाली कांग्रेसलाई नयाँ जीवन दिनु आवश्यक छ भएको छ । पार्टीलाई नयाँ र क्षमतावान व्यक्तिबाट पार्टी चल्नुपर्छ’, महामन्त्री डा.कोइरालाले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले देशमा कुनै पनि काम ढंगले गर्न नसकेको बताए ।

‘यो सरकारले बाटोघाटो सबै बिगारेको छ । सोही कारण संसद र सडकबाट कडा आन्दोलन गर्नुपर्ने भएको छ’, उनले भनेका छन् ।

थापाले मुलुक बनाउने हो भने कसैले पनि गलत रबैया देखाउन नहुने बताए । गलत रबैया देखाउनेहरू नै परास्त हुने उनले चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस जिम्मेवार र शालिन ढंगले संगठन निर्माणमा अघि बढिरहेको उनले बताए ।

नवलपुर कांग्रेसका सभापति उमा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, प्रदेश सांसद तथा जिल्ला सभापति विष्णु लामिछाने, चितवनका पार्टी सभापति जीतनारायण श्रेष्ठ, प्रतिनिधि सभाका सांसद सत्यनारायण खनाल, पूर्वसांसद महेन्द्रध्वज जिसी लगायतले नेपाली कांग्रेसमा गुट र उपगुटको अन्त्य पहिलो आवश्यकता रहेको बताए ।

Published : Monday, 2019 October 21, 10:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया